काठमाडौं– हत्या गरेर फरार भएको ४१ वर्षपछि एक व्यक्ति पक्राउ परेका छन्। जन्मकैद सजाय तोकिएका स्याङ्जाको चापाकोट नगरपालिका–८ बस्ने ६७ वर्षीय डिल्लीबहादुर घर्तीलाई ४१ वर्षपछि प्रहरीले पक्राउ गरेको हो।
२०३३ बैशाख २ गते तत्कालीन रत्नपुर गाँउपञ्चायत, हाल चापाकोट नगरपालिका–८ कालीगण्डकी नदी किनारास्थित खोरियाघाटमा मेला चलिरहेको अवस्थामा जीतबहादुर रानाको हत्या भएको थियो। पाल्पाको तत्कालीन गोदारछाप गाँउपञ्चायत बस्ने भारतीय सेनामा कार्यरत रहेका २४ वर्षीय रानाको घर बिदामा आएका बेला हत्या भएको थियो।
हत्या गरेर कालीगण्डकी नदीमा उनको शव फालिएको थियो। त्यसको तीन दिनपछि घटनास्थलभन्दा करिब ४ सय मिटर टाढा कालीगण्डकी नदीमै रानाको शव फेला परेको थियो।
उक्त घटनामा संलग्नहरु १३ जनालाई जिल्ला अदालत स्याङ्जाले २०३६ माघ १७ गते कसूरदार ठहर गरी जन्मकैदको फैसला सुनाएको थियो। अभियुक्तहरुले तत्कालीन पश्चिमाञ्चल क्षेत्रीय अदालतमा पुनरावेदन दिएका थिए। पश्चिमाञ्चल क्षेत्रीय अदालतले समेत २०३९ कार्तिक २४ गते जिल्ला अदालत स्याङ्जाकै फैसला सदर गरेको थियो। क्षेत्रीय अदालतको फैसला उपरसमेत अभियुक्तहरुले सर्वोच्च अदालतमा पुनरावेदन गरेका थिए। सर्वोच्चले समेत २०४० माघ ८ गते जिल्ला तथा क्षेत्रीय अदालतकै फैसला सदर गरेको थियो।
जन्मकैदको सजाय तोकिए पश्चात् फरार रहेका प्रतिवादीमध्येका डिल्लीबहादुरलाई घरमै लुकिछिपी बसेको अवस्थामा फेला पारी प्रहरीले पक्राउ गरेकाे स्याङ्जा प्रहरीले जनाएको छ। उनलाई जिल्ला अदालत स्याङ्जामा पेश गरिएकोमा अदालतको आदेशले सजाय भुक्तानका लागि जिल्ला कारागार स्याङ्जा पठाइएको छ।
उक्त हत्याका फरार प्रतिवादीमध्ये तत्कालीन रत्नपुर गाउँ पञ्चायत– ८ बस्ने ७० वर्षीय भक्तबहादुर कुमाललाई २०७१ माघ ६ गते प्रहरीले पक्राउ गरेकोमा हाल जिल्ला कारागार कास्कीमा सजाय भुक्तान गरिरहेका छन्। अर्का फरार प्रतिवादी तत्कालीन रत्नपुर गाउँ पञ्चायत– ८ हाल चापाकोट नगरपालिका– ८ घर भएका तत्काल चापाकोट टार सिँचाई आयोजनामा पियन पदमा कार्यरत ६५ वर्षीय देवीबहादुर घर्तीलाई २०७५ भदौ २१ गते प्रहरीले पक्राउ गरेकोमा हाल जिल्ला कारागार पाल्पामा सजाय भुक्तान गरिरहेका छन्।
घटनामा संलग्न रही फरार रहेका अन्य प्रतिवादीहरुको समेत प्रहरीले खोजी गरिरहेको जिल्ला प्रहरी कार्यालय स्याङ्जाले जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।