काठमाडौं- नेपाल कम्युनिस्ट पार्टीको आज बसेको सचिवालय बैठक बिना निष्कर्ष सकिएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा तीन घण्टाभन्दा लामो समय बसेको बैठक बिना निष्कर्ष टुंगिएको हो। बैठकमा पार्टीको आन्तरिक समीक्षा, सरकारको सुदृढीकरण र पार्टी स्थायी कमिटी बैठकबारे छलफल भएको थियो। तर कुनै निष्कर्षमा नपुगेको र २० गते पुनः बस्नेगरी आजका लागि बैठक सकिएको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए।
विवादित अध्यादेश र सरकारका काम कारबाहीका विषयमा समीक्षा गर्न सचिवालय बैठक बोलाइएको थियो। बैठक कुनै पनि निष्कर्षमा पुग्न नसकेपछि २० गतेका लागि पुनः बैठक बस्ने र सोही दिन स्थायी कमिटी बैठक पनि बस्ने भन्दै समापन भएको हो।
'सरकार, पार्टीको स्थायित्वका विषयमा छलफल भयो। छलफल जारी छ। यसबीचमा पार्टी नेतृत्वले अनौपचारिक छलफल अघि बढाउँदै २० गते पुनः सचिवालय बैठक बस्ने निर्णय गरेको छ,' बैठकपछि बाहिरिने क्रममा प्रवक्ता श्रेष्ठले भने, 'सोही बैठकले स्थायी कमिटी बैठकबारे निर्णय गर्नेछ।'
मंगलबार अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल 'प्रचण्ड'बीच भएकाे भेटघाटमा सचिवालय बैठक बस्ने समझदारी भए अनुसार आज बैठक बसेकाे थियो।
सचिवालय बैठकमा आफूलाई बलियो देखाउन दुवै गुटका नेताहरुले सांसदको हस्ताक्षरसमेत चलाएका थिए। बैठकमा प्रधानमन्त्री ओलीको राजीनामाको विषय उठ्ने देखिएपछि आफूलाई बलियो देखाउन ओली पक्षले मंगलबारै सांसदको हस्ताक्षर चलाएका थिए। ओलीले सांसद हस्ताक्षर सुरु गरेपछि प्रचण्ड र माधवकुमार नेपाल गुटका नेताहरुले पनि आज हस्ताक्षर चलाएका थिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।