बर्दिवास– महोत्तरी जलेश्वरस्थित कारागारमा कैदी/थुनुवा बिरामी हुने क्रम ह्वात्तै बढेको छ।
गर्मी बढेसँगै कारागारका कैदी/थुनुवा बिरामी हुने क्रम ह्वात्तै बढेको हो। श्वासप्रश्वास, रुघाखोकी, ज्वरो, निमोनिया र लुतोलगायत रोगका बिरामी ह्वात्तै बढेको कारागार प्रशासनले जनाएको छ।
कारागारले थेग्नै नसक्ने गरी कैदी/थुनुवालाई यहाँ न्यायिक निकायले पठाइ दिने गरेपछि उनीहरुको बसाइ व्यवस्थापन मिलाउन गाह्रो भएसँगै बिरामी हुने क्रम बढेको कारागार प्रशासनले स्वीकार गरेको छ।
अहिले दिनहूँ नियमित उपचार लिनेकोे सङ्ख्या १ सय २५ को हाराहारीमा रहेको कारागार प्रमुखसमेत रहनुभएका वरिष्ठ स्वास्थ्यकर्मी शोभेन्द्र ठाकुरले बताए।
१ सय ३५ जना क्षमता भएको सो कारागारमा अहिले झण्डै चार गुणा बढी सङ्ख्याका कैदी÷थुनुवा भएपछि बसाइ कै अप्ठ्यारोले बिरामी हुने क्रम बढेको कारागार प्रमुख ठाकुरको भनाइ छ।
कारागारमा पुरुष र महिलाका लागि दुई छुट्टाछुट्टै कक्ष छन्। अहिले महिला कक्षमा ५ आश्रित बालबालिकासहित ५५ र पुरुष कक्षमा ४ सय १५ जना गरी कुल ४ सय ७० कैदी÷थुनुवा छन्।
२०४२ र २०४६ सालको ऐतिहासिक आन्दोलनताका बाहेक कारागारमा अहिलेको कैदी÷थुनुवाको सङ्ख्या कारागार इतिहासमै सर्वाधिक भएको कारागारको कैदी÷थुनुवा अभिलेखले देखाएको छ।
कारागारमा ठाउँको अभावसँगै सीमित शौचालय र धारामात्र हुँँदा उनीहरुलाई दिसापिसाब गर्न, नुहाउन र लुगा धुन घण्टौँ पालो कुर्नुपर्ने एवम् सुत्न–बस्न नै ठाउँ नपाउँदा आफूहरुलाई निकै गाह्रो भइरहेको कैदी/थुनुवाको गुनासो छ।
नापेर दिएको ४ हात जमिनमा खाँदिएर बस्न सुत्न पर्दा आफूहरुमध्ये धेरैलाई लुतो भएको पुरुष कक्षका १ जना कैदीले बताएका छन्।
ठाउँको अभावमा उनीहरुले नियमित सरसफाईसमेत गर्न नपाउँदा बिरामीको संख्या बढ्दो छ। पछिल्लो पटक श्वासप्रश्वास, निमोनिया र चर्मरोगका बिरामीहरुको उपचार राम्रो नहुँदा आफूहरुलाई बिरामी बनाउन नै कारागार ल्याइएको हो की भन्ने लाग्न थालेको पुरुष कक्षका अर्का एक थुनुवाको टिप्पणी छ।
कारागारमा कैदी÷थुनुवाका लागि जाडो र गर्मी मौसममा गरी दुईपटक मौसमअनुसारको लुगा दिइने कानुनी व्यवस्था भए पनि यहाँ कहिल्यै ठिक समयमा यो सुविधा नपाइएको कैदी÷थुनुवाको भनाइ छ।
कारागार प्रमुख ठाकुरले पनि कैदी÷थुनुवाको यो गुनासोलाई स्वीकार गरे। ‘कारागारमा दिनहुँ कैदी÷थुनुवा पठाइन्छन्’, उनले भने, ‘तर, कैदी÷थुनुवा थपिएको अनुपातमा मौसमअनुसारका लुगा र उपचार खर्च भने आउँदैन।’
कारागारमा महिला कक्षका ५५ जनाका लागि एक वटा धारा र शौचालयमात्र छ। त्यसैगरी पुरुष कक्षका ४ सय १५ जनाका लागि चार वटा धारा र शौचालयमात्र हुँदा दिसापिसाब गर्न घण्टौँ पालो कुर्नुपर्ने समस्याले नै बिरामी बढ्ने पुरुष कक्षका एक पाका कैदीको गुनासो छ।
‘के गर्नु हजुर, नुहाउन नपा’को कति दिन भइसक्यो’, पुरुष कक्षका करिब ६० वर्ष उमेरका एक कैदीले आफ्नो घाउ÷खटिरा देखाउँदै भने, ‘आफैले किनेको साबुन लाएर नुहाउन पाउने दिन पनि हाम्रा लागि त तीर्थ नै हुनेभो।’
कारागारको यो अवस्था अन्त्य गर्न क्षमताभन्दा बढीका कैदीथुनुवा बन्दी अन्यत्र लान र कारागारमा भौतिक व्यवस्थापन जुटाउन स्थानीय प्रशासन र कारागार व्यवस्था विभागमा कैयौँ पटक आग्रह गरिए पनि सुनुवाइ नभएको कारागार प्रशासनले जनाएको छ।
विशेषगरी न्यायिक निकायबाट न्याय सम्पादनमा हुने गरेको ढिलाइले पूर्पक्ष थुनुवाको सङ्ख्या निकै बढेको र धनुषा जिल्लाका न्यायिक र अर्धन्यायिक निकायले पठाउने कैदी÷थुनुवाको सङ्ख्या निकै बढेकाले कारागारको भित्री व्यवस्थापन अस्तव्यस्त हुने गरेको हो।
महोत्तरी कारागारमा अहिले रहेका ४ सय ७० कैदी÷थुनुवामध्ये ६५ प्रतिशत पूर्पक्ष थुनुवा रहेका कारागार प्रमुख ठाकुरले जानकारी दिए। त्यसैगरी कुल कैदी÷थुनुवाको त्यतिकै प्रतिशत नै धनुषा जिल्लाका रहेको कारागार प्रशासनले जनाएको छ।
१९१३ सालमा तत्कालीन राणा प्रधानमन्त्री जङ्गबहादुर राणाले निर्माण गराएको यो कारागार त्यसयता मर्मत सम्भार हुन नसक्दा दिनहुँ पर्खाल र छत उप्केर झरिरहेको छ। अन्य समस्यासँगै पुरानो भवनको पर्खालका इटा झर्ने र छतको सिमेण्टको टुक्रा उप्केर झर्दा किचिएर, थिचिएर मरिने पो हो कि भन्ने डरले समेत सताउने गरेको गुनासो कारागारका कैदी÷थुनुवाले व्यक्त गरेका छन्।
(गोपालप्रसाद बराल/रासस)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।