काठमाडौं– महानगरीय अपराध महाशाखाले विभिन्न सरकारी र शैक्षिक संस्थाको छाप तथा कर्मचारीको दस्तखत किर्ते गर्ने ३ जनालाई पक्राउ गरेको छ।
महाशाखाको टोलीले त्रिपुरेश्वरस्थित कन्सुलर विभागमा विदेश जानका लागि खुमानसिंह थापाले दर्ता गरेको कागजात नक्कली भएपछि प्रहरीले गुल्मीका खुमानसिंह थापासहित, चितवनका अर्जुन अधिकारी र सल्यानका बलबहादुर राउतलाई मंगलबार पक्राउ गरी बुधबार सार्वजनिक गरेको हो।
खुमानसिंह थापाको नक्कली कागजात अर्जुन अधिकारीमार्फत बलबहादुर राउतले बनाउने गरेको अनुसन्धानमा खुलेपछि प्रहरीले तीनै जनालाई पक्राउ गरेको हो। उनीहरुले पुलिस रिपोर्ट प्रमाणीकरण गर्ने क्रममा एसएलसीको शैक्षिक प्रमाणपत्र नक्कली पेश गरेको खबर पाएपछि महाशाखाको टोलीले समातेको हो।
उनीहरुले एसएलसी क्यारेक्टर सर्टिफिकेट, बैंक स्टेटमेन्ट, मृत्यु दर्ता, विवाह दर्ता, प्रहरी रिपोर्ट, नाता प्रमाणितलगायतका कागजात नक्कली बनाउने गरेको प्रहरीले जनाएको छ।
हालसम्म राउतले ४ हजारप्रति नक्कली शैक्षिक प्रमाणपत्र, एक हजार ५ सय थान बैंक स्टेटमेन्ट, ४ सय थान सवारी चालक अनुमतिपत्र, १ सय ५० थान प्रहरी रिपोर्ट बनाएको अनुसन्धानमा खुल्न आएको छ।
राउतले शैक्षिक प्रमाणपत्रलाई १ हजार ५ देखि ५ हजार, बैंक स्टेटमेन्टलाई १ हजार ५ देखि २ हजार ५ सयसम्म, सवारी साधन अनुमतिपत्रलाई १ हजारदेखि २ हजारसम्म, प्रहरी रिपोर्टलाई ५ सय देखि १ हजार रुपैयाँसम्म लिने गरेको अनुसन्धानमा खुलेको महाशाखाले जनाएको छ।
पक्राउ परेकालाई मुलुकी ऐन किर्ते कागजको १२ नं बमोजिम कारबाही गरिनेछ। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।