एजेन्सी- कोरोना भाइरसको महामारी फैलिएपछि चीन र अस्ट्रेलियाको सम्बन्ध लगातार रूपमा बिग्रिरहेको छ। अस्ट्रेलियाली प्रधानमन्त्री स्कट मोरिसनले विश्व स्वास्थ्य संगठनका सबै सदस्यलाई पनि कोरोना संक्रमणमा स्वतन्त्र जाँचका लागि मद्दत गर्न आग्रह गरेका छन्।
अस्ट्रेलियाली कृषिमन्त्रीले जी-२० देशका सदस्यसँग चीनलाइ वन्यजन्तुको व्यापारमाथि प्रतिबन्ध लगाउन अनुरोध गरेका छन्। गत वर्ष डिसेम्बरमा चीनको वुहान सहरको भेट मार्केटबाट नै कोरोना भाइरस संक्रमणको सुरूवात भएको थियो। अमेरिकी राष्ट्रपति डाेनाल्ड ट्रम्पले पनि लगातार रूपमा चीनमाथि विभिन्न आरोपहरू लगाउँदै आएका छन्। उनले कोरोना भाइरसबाट संक्रमित व्यक्तिको सूचना पारदर्शी रुपमा विश्वसामु सार्वजनिक नगरेको भनेर विभिन्न आरोप लगाउँदै आएका छन्।
बेलायती विदेशमन्त्रीले चीनसँग सामान्य सम्बन्ध नरहने बताएका छन्। अमेरिकी राष्ट्रपति ट्रम्पले विश्व स्वास्थ्य संगठन चीन परस्त भएको भन्दै वर्षेनी दिँदै आएको सहयोग बन्द गरिदिने घोषणा गरेका छन्। यसपछि झन् चीनतिर विभिन्न प्रश्नहरू सोझिएका छन्। अमेरिकामा कोरोना भाइरसबाट मृत्यु हुनेकाे संख्या करीब ४७ हजार पुगिसकेको छ भने ८ लाख ४२ हजार कोरोना संक्रमित रहेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।