भक्तपुर- देशमा अहिले विषयहरु छरिएका छन्, आवश्यकताहरु यकिन हुन सकेका छैनन्। कोरोना भाइरस (कोभिड १९) का कारण विश्वभर देखिएको गम्भीर अवस्थामा पनि नेपालमा भने राजनीतिक दल फुटाउन सहज हुने अध्यादेश द्रुत गतिमा अनुमोदन गरिएको छ।
यसले ‘काम कुरो एकातिर कुम्लो बोकी...’ भन्ने उखान चरितार्थ भइरहेको छ। सत्तामा रहनेले अप्ठ्यारो अवस्थामा कसरी विषयलाई बंग्याउँछन् र चर्चामा रहने मसला फेरिदिन्छन् भन्ने पनि यसबाट देखिन्छ। नागरिक सुरक्षालाई केन्द्रमा राखेर सहज रुपमा कसरी अगाडि बढ्ने भन्नेमा केन्द्रित विषय सोमबार दिउँसोदेखि पार्टी फुट्ने अनावश्यक बसहतिर मोडियो।
सयौँ किलोमिटर हिँडेर घर गइरहेका श्रमिकहरु, खाद्यान्नको सहजता, स्वास्थ्य सामग्रीको उपलब्धता, लकडाउनको प्रभावकारी पालना जस्ता विषय भन्दा राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) अध्यादेश, २०७७ किन महत्वपूर्ण जस्तो बन्यो त? उत्तर सहज के भने- सरकार शासन गर्न चाहन्छ चाहे नागरिकका दुःखको वेवास्ता गरिरहन परोस्।
आइतबार सरकारी सञ्चार माध्यमका प्रतिनिधिसँग प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको कुराकानी र सोमबार विकास भएको राजनीतिक घटनाक्रमले अवस्था अनौठो बनिरहेको छ। खाने कुराको अभाव हुँदै जाँदा असुरक्षित महसुस गरेर हिँड्दै घर जाने श्रमिकहरु थप वेवास्तामा परेका छन्।
‘यसलाई कुनै राजनीतिको मसला बनाउन मिल्दैन। सरकारले जनतालाई दुःख दियो भनेर भन्न मिल्दैन। जनता जोगाउनका लागि हामीले केही दिन लकडाउन गरेका हौँ। यसलाई इगो, कुनै आइडोलोजी कुनै राजनीतिक प्रणालीको विषय बनाउन आवश्यक छैन’ प्रधानमन्त्रीले यसो भनिरहँदा सरकार आफै भने राजनीतिक दाउपेचमा लाग्न थालेको छ।
मानिसहरु दुःख पाएर हिँड्दै घर गइरहेको विषयमा प्रधानमन्त्रीको टिप्पणी छ- ‘धादिङमा मान्छे निस्कन्छन् र त्यहाँबाट जान्छन्, बीचमा प्रकट हुन्छन् मान्छे। एउटा पत्रकार चाहिँ त्यहाँ कसरी पुगिसक्छ, त्यहाँको प्रहरीलाई थाहा छैन, त्यहाँको सिडिओलाई थाहा छैन तर मान्छे हुर्र निस्केर गन्तव्यतिर लाग्दा पत्रकारलाई चाहिँ थाहा हुन्छ र, काठमाडौंबाट क्यामरा बोकिओरी निस्केका हुन्छन्। कसरी? रहस्यपूर्ण छैन र?’
प्रधानमन्त्रीले सिडिओ र प्रहरीलाई थाहा नभएको कुरा पत्रकारलाई मात्र थाहा हुनु रहस्यपूर्ण भएको र समाचार बनाउनुअघि सरकारलाई खबर गरिदिए नागरिकले दुःख नपाउने भन्दै जति नै बोले पनि सरकार आफै कमजोर देखिनेबाहेक अर्को केही उपलब्धि भएको छैन।
श्रमिकले भोगिरहेका दुःखमा प्रधानमन्त्रीले भनेजस्तो सिडिओ र प्रहरीले थाहा नपाएका पनि छैनन्। भक्तपुरकी प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डे खाद्यान्न भण्डारणका लागि भक्तपुर राधेराधेमा काम गर्दैगर्दा सडकमा नै भेटिएकी थिइन्। त्यही बाटो भएर घर हिँडिरहेका सयौँ श्रमिकहरु उनले हरेक दिन देखिरहेकी छिन्। त्यसमा उनीहरुलाई जहाँ छन् त्यही सुरक्षित राख्न नसकिएकोमा चिन्तित पनि। उनीसँग सडकमा नै हामीले केहीबेर कुराकानी गरेका छौँ, जहाँ प्रधानमन्त्रीले भनेजस्तो विषयबाट उनी अनभिज्ञ लाग्दिनन्-
भक्तपुरमा अहिले कामहरु कसरी भइरहेका छन्?
भक्तपुर जिल्लामा लकडाउनलाई सफल पार्नका लागि पहिलो प्राथमिकता लकडाउन उल्लंघन गर्न नदिने, सचेतना विकास गर्ने, सुरक्षाकर्मी परिचालन गरेर लकडाउन उल्लंघन गर्नेलाई कारबाहीको दायरामा ल्याउने, त्यसका साथै शान्ति सुरक्षाका विषय पनि हेर्दै छौँ। भक्तपुरमा अहिले चाडवाडको सिजन पनि हो, शुक्रबार मात्र बिस्केट जात्रा सकिएको छ।
यस्तो अवस्थामा अत्यन्तै चुनौतीपूर्ण ढंगले सुरक्षित रहेर काम गर्नुपर्ने थियो। जुन बिस्केट जात्रामा भक्तपुर नगरपालिका र मध्यपुर ठिमी नगरपालिकामा जात्रामा हजारौँ मानिसको भिडभाड हुने समय पनि हामीले मानिसहरुलाई सम्झाएर सुरक्षित रुपमा काम गर्न सक्यौँ। नगरपालिकाको सहयोगमा मानिसहरुलाई घरबाट निस्कन नदिइ सामान्य पूजा घरमा नै गरेर जात्रा सकायौँ। त्यसका लागि भक्तपुरबासी जनतालाई धेरै धन्यबाद दिन चाहन्छु। उहाँहरुले सयौँ वर्षदेखिको परम्परालाई सुरक्षित रुपमा घरमा बसेर पूजाआजा गरेर लकडाउन पालना गर्नुभएको छ।
भक्तपुर जिल्लामा सँगसँगै स्वास्थ्यका हिसाबले पनि जोड दिइएको छ। यहाँ आइसोलेसन वार्डहरु तोकिएको छ। भक्तपुर अस्पतालाले कोरोना हब हस्पिटलको रुपमा काम गरिरहेको छ। नियमित परिक्षणका कामहरु भइरहेका छन्। अहिलेसम्म पोजेटिभ देखिएको छैन। विदेशबाट आएका सबैको लगत राखेर कन्ट्याक्ट ट्रेसिङ गरिरहेका छौँ। त्यसरी जाँच भइरहेको छ। २७० जना विदेशबाट आउनेको जाँच भइसक्यो। सबै क्वारेन्टाइनमा बसिरहनुभएको छ।
धेरै श्रमिकहरु यही बाटो भएर हिँडेर घर फर्किरहेको पनि देखिन्छ। उहाँहरुलाई यहाँ नै राख्न नसक्ने अवस्था चाहिँ कसरी आयो?
मजदुरको सवालमा उनीहरु हिँडेर पनि घर गइरहेको कुरा सहि हो। भक्तपुरमा नै पनि धेरै श्रमिकहरु हुनुहुन्छ। तराइ र पहाडका जिल्लाहरुका श्रमिकहरु हुनुहुन्छ। यहाँ ६४ वटा ईंटा भट्टामा काम गर्ने श्रमिकहरु नै धेरै हुनुहुन्थ्यो। पहिलो चरणमा हामीले १५ हजार जति श्रमिकलाई घर पठाएका थियौँ।
जब कामदार पठाउन रोकियो तब ईंटा भट्टामा रहेका र अरु कामदारका साथै ललितपुर र काठमाडौंमा रहेका कामदार पनि यो भक्तपुरको बाटो भएर हिँडिरहँदा उहाँहरुको मुभमेन्ट रोक्नु हाम्रा लागि ठूलो चुनौतीको विषय भयो। हिँड्ने मानिसलाई रोकेर जो जहाँ छन् त्यहीँ सुरक्षित बस्नुपर्ने अवस्थामा पनि हामीले त्यसरी रोक्न सकेनौँ।
त्यसले गर्दा हामीले सकेसम्म सुरु बिन्दुमा नै पठाउने प्रयास गरिरहेका छौँ, जो असाध्यै समस्यामा हुनुहुन्छ र खाने कुराको गाह्रो छ उहाँहरुलाई विभिन्न दाताहरुसँग सहजीकरण गरेर खाना खुवाएर पठाउने गरेका पनि छौँ। कतिपय विरामी र बच्चा बोकेर हिँड्नुभएकालाई सहजीकरण गरेर उहाँहरुको गन्तव्यसम्म लैजाने काम पनि गरेका छौँ। हुँदा हुँदै पनि धेरै जसो मानिसहरु अतालिएर झोला बोकेर निस्किरहनु भएको छ, उहाँहरुलाई यहाँ नै सुरक्षित रुपमा राख्न सबैले सोच्नुपर्ने भइरहेको छ।
बाटोमा हिँड्ने मानिसहरु भेटिँदा खानेकुरा सकियो। यहाँ बस्न मुस्किल भयो भन्नेहरु धेरै हुनुहुन्थ्यो। खाने कुराकै अभाव हुन नदिन कुन समन्वयको अभाव भयो त? यहीँ बसेर पनि खान पाइन्छ भन्ने भर किन भएन त?
राहत त स्थानीय तहले आआफ्नो ठाउँबाट बाँडिरहेका छन्। उहाँहरुले पाउनुभएको पाँच किलो चामल दालले आश्वस्त हुन नसक्नुभएको हो कि जस्तो लाग्छ हामीलाई। हामी चाहिँ सरकारले चाहिँ तपाइँहरु बस्नुहोस् आवश्यक सबै कुरा यहीँ हुन्छ भन्दा पनि उहाँहरु हिँडिरहनु भएको छ। त्यसैले उहाँहरुलाई सम्झाउनु हामी सबैको दायित्व हो। आइसकेकालाई बीच बाटोमा रोक्नुभन्दा आउने ठाउँबाट नै नआनुहोस् भन्नेमा ध्यान दिनुपर्ने भएको छ। त्यसका लागि अरु जिल्लासँग पनि समन्वय गरिरहेका छौँ। जानै पर्ने भएकालाई सहजीकरण गरेर पठाउने काम पनि गर्नै पर्छ।
घरमा बसेर यो सबै कुराहरु सुनिरहँदा, मानिसहरु यति लामो बाटो हिँडेर घर फर्किरहेको देख्दा व्यक्तिगत रुपमा यहाँलाई कस्तो लाग्छ?
व्यक्तिगत रुपमा भन्दा मानवीयताको दृष्टिकोणले हेर्नुपर्छ। हामी सबै मानव हौँ। मानवताकै लागि अहिले फिल्डमा नै खटिएका छौँ। जसरी स्वास्थ्यकर्मी, सुरक्षाकर्मीलगायत फ्रन्टलाइनमा खटिनेहरु सबै समन्वय गरेर काम गरिरहनुभएको छ। मानवले मानवलाई स्वास्थ्य र सुरक्षाको प्रत्याभूत गराउनुपर्ने बेला हो।
गर्दा गर्दै पनि मानवीयताको हिसाबले काममा खटिइरहँदा मानवीयता नै मारेर पनि काम गर्नुपर्ने अवस्था आउन सक्ने रहेछ। घर जान हिँड्नेहरुलाई तपाइँहरु फर्किनुहोस् भन्दा अलिकति आत्मग्लानी त हुन्छ तर पनि सबैले आफ्नो तहबाट सहयोग सबैले गरिरहनुभएको छ। स्वास्थ्यभन्दा ठूलो कुरा त अरु छैन।
तपाईंकै दिनचर्या चाहिँ कस्तो छ अहिले?
दिनचर्या त अफिसको काम नियमित छ। जिल्ला प्रशासन कार्यालयको काममा हरेक दिन अफिस जाने, स्थानीय तहसँग समन्वय गर्ने, स्वास्थ्य राहतका विषयमा सहजीकरण गर्ने काम हुन्छ। स्वास्थ्य जाँच गर्नुपर्ने मान्छेलाई अस्पताल जान सहजीकरण गरिदिने जस्ता कामहरु भइरहेका हुन्छन्।
भक्तपुरकै हकमा अब अगाडि गर्नुपर्ने कामहरु के हुन् भन्ने लाग्छ?
भक्तपुरमा तीन वटा क्वारेन्टाइन नेपाल सरकारले तोकेको छ। विदेशबाट आएर बस्नेहरु त्यहाँ बसिरहनु भएको पनि छ। अब भविष्यमा आउन सक्ने चुनौतीलाई आँकलन गरेर क्वारेन्टाइन अझ व्यवस्थित बनाउने विषयमा पनि काम गर्नुपर्ने छ। सरकारले गरेको लकडाउन र विशेष गरी भविष्यमा आउन सक्ने चुनौतीका लागि खाद्यान्न भण्डारण गर्ने र सुरक्षित रहन सबैलाई घरमा नै बस्ने वातावरण बनाउने काम नै गर्नुपर्छ। अझै पनि कतिपयले नबुझ्दा बुझाउनुपर्ने काम पनि गर्नुपर्ने छ। स्थानीय तहका स्वास्थ्य संयोजक, वडाध्यक्ष र सुरक्षामा रहनेको स्वास्थ्यलाई मध्यनजर गरी सामग्री उपलब्ध गराउनुपर्ने पनि छ।
अहिले आवश्यक केही कुराको अभाव भइरहेको छ?
अहिले विशेष आवश्यक पिपिईको नै हो। नेपाल सरकारबाट नै त्यसको अभाव हुन नदिन काम भइरहेको छ। विभिन्न निकायसँग समन्वय गरेर आवश्यक सामान उपलब्ध गराइरहेका छौँ। अहिले स्वास्थ्यका हिसाबले मात्र काम गरेर बस्ने अवस्था पनि हुँदैन। विभिन्न सुरक्षाका कुराहरु पनि आउँछन्। अपराधहरु घट्न सक्ने हुनाले चनाखो हुनुपर्ने छ।
स्थानीय तहसँग समन्वय गरेर आवश्यक ठाउँमा राहत लैजानुपर्ने हुन्छ। खाद्यान्न आपूर्ति सहजीकरण गर्नेमा पनि जोड दिनुपर्ने हुन्छ। स्वास्थ्यको पहुँच सहज बनाउने, यातायात ब्यवस्थापन गर्ने, हिँडेर जानेहरुलाई सम्हाल्ने कामहरु भइरहेकै छन्। अझ अल्पकालीन, मध्यकालीन र दीर्घकालीन रणनीतिहरु बनाएर अगाडि बढ्नुपर्ने हुन्छ।
तपाईं अहिले फिल्डमा खटिरहँदा भेटिनुभयो। यसरी बाहिर हु्ँदा आफैलाई डर कत्तिको हुने रहेछ?
जिम्मेवारी हुँदा डर भागेर जाने रहेछ। भक्तपुर जिल्ला जनघनत्व बढी भएको जिल्ला हो। यस्तोमा घरभित्र बसेर लकडाउन सफल गर्न सबैले सहयोग गर्नुभएको छ। त्यसैले सबैलाई धन्यबाद पनि दिन चाहन्छु।
000
भक्तपुरकी प्रमुख जिल्ला अधिकारी पाण्डेलाई मात्रै होइन काभ्रेपलाञ्चोकका प्रमुख जिल्ला अधिकारी श्रवणकुमार तिमिल्सिना पनि हिँडेर जाने मानिसहरुलाई भएकै ठाउँमा रोक्न नसकिएकोमा चिन्तित छन्। खाने कुराको अभाव हुन नदिइ मानिसहरु जहाँ छन् त्यहीँ राख्नुपर्ने अवस्थामा पनि श्रमिहरु हिँडेरै घर जान लागिरहनु असुरक्षित भएको उनलाई लाग्छ।
काभ्रेपलाञ्चोकका प्रजिअ तिमिल्सिना यस्तो समयमा गर्न सकिने कामका विषयमा सुरक्षा निकायसँग लगातार छलफलमा नै छन्। उनले पनि धुलिखेलको बाटो हुँदै गाउँ हिँडेका नागरिक देखिरहेको धेरै दिन नै भयो। तर ती श्रमिक वर्गले खानै नपाउने अवस्था आउने डर किन माने थाहा छैन।
मानवीयताका हिसाबले गर्न सक्ने कामहरु गरिरहेको भए पनि नीतिगत रुपमा नै त्यसरी समस्यामा परेकालाई सहयोग गर्ने काममा कहाँ चुकिएको हो या मानिसहरु अतालिएर हिँडिरहेका हुन् भन्ने दोधार नै छ। काभ्रेका प्रमुख जिल्ला अधिकारी तिमिल्सिनासँग पनि हामीले केहीबेर कुराकानी गरेका छौँ-
अहिले मानिसहरु जहाँ छन् त्यही बसुनु भन्नेमा नै मुस्किल देखिएको छ। अरु समस्याहरु के आइरहेको छ? कसरी काम भइरहेको छ?
काभ्रेमा हाम्रो दुईवटा हाइवे छन्। एउटा अरनिको अर्को बिपि हाइवे। पैदल यात्रीहरु बढिरहेको हुनाले उहाँहरु उपत्यकाबाट आएको हुनाले उता समन्वय गरिरहेका छौँ। किनभने मुहान नै बन्द भयो भने लकडाउनलाई राम्ररी अगाडि बढाउन र सुरक्षित रहन सहज हुन्छ। पैदल यात्रीले पाउने दुःख पनि बन्द हुन्छ। खाद्यान्नको कुरामा स्थानीय तहले राहत बाँडिरहेको छ। विशेषगरी श्रमिक वर्गलाई नै ध्यानमा राखेर राहत बाँड्ने काम भइरहेको छ।
राहतकै कुरामा सडकमा हिँड्नेहरुसँग कुरा गर्दा कतिपयले नागरिकता साथमा नहुँदा राहत पाएनौँ भन्ने कुरा पनि गर्नुभयो। यो अवस्थामा नागरिकता खोज्नेबाहेक अरु विकल्प पनि हुन सक्थ्यो कि?
खासगरी काभ्रेको हकमा त्यस्तो भएको छैन। स्थानीय तहबाट श्रमिक र मजदुरको अवस्था हेरेर नै राहत दिइएको हो। नागरिकता नभएर राहत नपाउने भन्ने समस्या त यहाँ देखिएको छैन।
अहिले समस्याहरु केही आएका छन्?
खासगरी लकडाउनलाई प्रभावकारी बनाउने। र कोरोना रोकथामका लागि तीन तहका सरकारका बीचमा समन्वय गरेर काम गरिरहेका छौँ। आपूर्ति व्यवस्था सहज बनाउने काम पनि गरिरहेका छौँ। मलाई लाग्छ काभ्रेमा लकडाउन राम्ररी नै सुरक्षित हिसाबले अघि बढिरहेको छ।
पिपिईलगायतका केही सामानको अभाव छ। खासगरी स्वास्थ्यकर्मीको सुरक्षाका कुरामा पनि जोड दिइरहेका छौँ।
केही दिनअघिसम्म हिँडेर घर जाने मानिसहरु बढि नै थिए। बाहिर निस्किएका र कठिन अवस्थामा रहेका मानिसका लागि केही गर्न सकिएन?
अब के भने लकडाउन भनेकै जो जहाँ छ त्यही बस्ने भन्ने हो। बस्न खान मुस्किल भएकालाई हेर्ने भन्ने नै हो। त्यसले गर्दा रोगको रोकथाममा ध्यान दिइएन भने यसलाई रोक्न मुस्किल पर्छ। यस्तो अवस्थामा पनि टाढा जाने केही यात्रीहरुले दुःख पाएको भन्ने गुनासोहरु हामी सुन्छौँ। त्यसलाई व्यवस्थित गर्ने गरी काम गरिरहेका छौँ।
हिँड्ने मानिसहरु प्राय त खानेकुराको अभाव नै भनिरहेका छन्। स्थानीय तहले दिएको खाद्यान्नका विषयमा पनि अलमल भएर उनीहरु हिँडिरहेका देखिन्छन्। बिग्रिएको कहाँ हो भन्ने लाग्छ?
यो ठीक विषय हो। उपत्यका भित्रका स्थानीय तहले बाँड्ने राहतमा मजदुर र श्रमिक वर्गलाई नै केन्द्रमा राख्नुपर्छ। नेपाल सरकारको नीति पनि त्यही हो। कसैले पनि खान नपाउने अवस्था नआहोस् भन्ने नै छ। त्यसमा स्थानीय तहले ध्यान दिनैपर्छ।
व्यक्तिगत रुपमा तपाईंलाई नै त केही समस्या आइपरेको छैन नि?
कोरोना भाइरस (कोभिड १९) को कारण समस्या हरेकलाई नै छ। मेरो घर काठमाडौँमा हो, अहिले काभ्रेमा छु। डेढ महिनादेखि परिवारसँग भेटघाट छैन। अब अहिलेको परिस्थितिमा कोभिड १९ नियन्त्रणमा राख्न सबैले आफ्नो ठाउँबाट काम गर्नैपर्ने भएको छ।
काम गरिरहेका पनि छौँ। हामी सबै नेपालीको जिम्मेवारी र दायित्व पनि हो। सुरक्षित हुन सबैले पहल गरौँ। सबै सुरक्षित र सतर्क हुनुपर्छ। कतिपय कमि कमजोरी भए पनि सबैले यो संकटको घडीमा मिलेर अगाडि बढ्नुपर्छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।