नवलपुर– नवलपुरको चितवन राष्ट्रिय निकुञ्ज क्षेत्रबाट प्रभावित बोटे समुदायले माछा मार्न पाउनुपर्ने भन्दै आन्दोलनका कार्यक्रम सार्वजनिक गरेका छन्।
परम्परागत रुपमा जीविकोपार्जन गर्दै आएको समुदायलाई राज्य पक्षले सहयोग गर्नुपर्ने मध्यवर्ती क्षेत्र जनअधिकार महासंघका केन्द्रीय उपाध्यक्ष एवम् माझी मुसहर बोटे कल्याण सेवा समिति नवलपरासीका अध्यक्ष लालबहादुर बोटेले बताए।
माझी, मुसहर बोटे तथा आदिवासी समुदायलाई विना शर्त कानूनतः व्यवस्था गरिएको जंगली सागसिस्नु र कन्दमूल संकलन तथा माछा मार्नका लागि सहज वातावरण मिलाउनुपर्ने उनीहरुको माग छ।
गत फागुनमा दुई बोटेलाई निकुञ्ज प्रशासनले नारायणी नदीमा माछा मार्ने क्रममा पक्राउ गरेपछि उनीहरु आन्दोलित भएका हुन्। उनीहरुले आन्दोलनका क्रममा नवलपरासीमा रहेका ७ मध्यवर्ती उपभोक्ता समिति र एक मध्यवर्तीबाट सञ्चालित सहकारीमा तालाबन्दीसमेत गरिदिएका छन्।
निकुञ्जले अभियुक्त २ जनालाई ५५ हजार धरौटीमा रिहा गरेको थियो। यता २ दिनअघि मात्रै माछा मार्दै गरेका बाबुछोरालाई नियन्त्रणमा लिइएको छ। निकुञ्ज प्रशासनले उनीहरुले तियारी जाल प्रयोग गरेको र गस्तीमा रहेको सेनामाथि अपशब्द प्रयोग गरेका कारण नियन्त्रणमा लिएको जनाएको छ। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।