इटहरी– कोशीटप्पु वन्यजन्तु आरक्षले विश्वकै दुर्लभ ‘बबुल’ प्रजातिको अर्ना गणना मंगलबारदेखि प्रारम्भ गरेको छ।
प्रत्येक दुई वर्षमा वन्यजन्तु संरक्षण विभागको नीतिअनुसार अर्ना गणना गरिँदै आएको छ। दुई वर्षअघिको गणनानुसार आरक्षमा ४ सय ३२ अर्ना थिए। एक वर्षअघि अर्नाको वंश संरक्षणका लागि वन्यजन्तु संरक्षण विभागको कार्ययोजनानुसार आरक्षबाट १३ अर्ना चितवन लगिएपछि अर्नाको संख्यामा कमी आएको हुनसक्ने अनुमान गरिएको छ।
सुनसरी, सप्तरी र उदयपुर जिल्लाको बीच भागमा रहेको सप्तकोशीको सीमसार क्षेत्र अर्थात् विश्व रामसार क्षेत्रमा पहिलो पटक सूचीकृत कोशीटप्पु वन्यजन्तु आरक्षमा यस वर्षको अर्ना गणनाको तीन दिने अभियानको बराहक्षेत्र नगरपालिकाका प्रमुख नीलम खनाल र सुनसरीका प्रजिअ गोपालप्रसाद पराजुलीले प्रारम्भ गरे।
त्यस अवसरमा प्रमुख खनालले नेपालको प्रमुख प्राकृतिक सम्पदामध्ये विश्वभरका पर्यटकलाई लोभ्याउन सकिने सम्पदाका रुपमा रहेको अर्ना तथा आरक्ष क्षेत्रमा रहेका दुर्लभ प्रजातिका वन्यसम्पदा सबै मिलेर संरक्षण गर्नुपर्नेमा जोड दिए।
आरक्षका प्रमुख संरक्षण अधिकृत श्यामकुमार साहले मध्यवर्ती क्षेत्रका स्थानीयवासीलाई आरक्षप्रति सकारात्मक दृष्टिकोण राखेर काम गर्न आग्रह गरे।
अर्ना गणनाका लागि ४ टोली परिचालन गरिएको छ। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।