काठमाडौं- संघीय संसदका सभामुख अग्निप्रसाद सापकोटाले सातै प्रदेशका सभामुखहरुसँग छलफल गरेका छन्। सभामुख सापकोटाले नोभल कोरोना भाइरस (कोभिड-१९) का कारण सिर्जित विषम परिस्थितिमा सातै प्रदेशमा परेको प्रभाव र भइरहेको तयारीका विषयमा फोनबाट छलफल गरेका हुन्।
छलफल लकडाउनपछि प्रदेशको समग्र अवस्था, कोरोना रोकथाम तथा नियन्त्रणका लागि प्रदेशले गरिरहेका काम, स्वास्थ्य सामग्री र स्वाथ्यकर्मीको उपलब्धता र संघ,प्रदेश र स्थानीयतहवीचको समन्वय र आगामी अंगिकार गरिने नीतिका विषयमा केन्द्रित रहेको थियो।
सभामुखहरुसँगको छलफलमा सापकोटाले प्रदेशमा विदेशबाट आएका नागरिकको अवस्था, उनीहरुलाई राखिएको क्वारेन्टाइन तथा अन्य व्यवस्थापन, स्वास्थ्यकर्मी तथा औषधीको उपलब्धता, परीक्षण र न्यून आय भएका र दैनिक ज्यालादारी मजदुरका लागि खाद्यान्नको उपलब्धताका विषयमा विस्तृत जानकारी लिएका थिए।
छलफलका क्रममा प्रदेश नं १ का सभामुख प्रदीप कुमार भण्डारीले कोरोना भाइरस रोकथाम र नियन्त्रणका लागि यथेष्ठ व्यवस्थापन गरिएको बताए। उनले संघीय सरकारले घोषणा गरेको लकडाउन पालनामा कडाइ गरिएको बताए।
प्रदेश नं २ का सभामुख सरोजकुमार यादवले भारतसँगको सीमामा थप कडाइका लागि संघीय सरकारका गृहमन्त्रालय मार्फत् समन्वय गरिदिन संघीय संसदका सभामुख सापकोटासँग आग्रह गरेका थिए। खुल्ला सीमाका कारण प्रदेश नं २ मा जोखिम बढ्न सक्नेतर्फ आफूहरु सतर्क रहेको यादवको भनाइ थियो।
बागमती प्रदेशका सभामुख सानुकुमार श्रेष्ठले प्रदेशमा लकडाउन पालनामा विशेष जोड दिइएको बताए। गण्डकी प्रदेशका सभामुख नेत्रनाथ अधिकारीले सचेततापूर्वक क्वारेन्टिनमा बस्ने र परीक्षणको काम भइरहेको बताए।
प्रदेश नं ५ का सभामुख पूर्णबहादुुर घर्तीले लकडाउनको पालनालाई कडाइ गरिएको जानकारी गराए। कर्णाली प्रदेशका सभामुख राजबहादुर शाहीले कर्णाली प्रदेशमा स्वास्थ्य सामग्री र जनशक्तिको अभाव रहेको बताए।
सुदूरपश्चिम प्रदेशका सभामुख अर्जुनबहादुर थापाले लकडाउनको सुरुआती दिनमा भारतबाट फर्किएका नागरिकलाई व्यवस्थापनमा कठिनाई भएपनि हाल सहज भएको बताए।
सभामुख सापकोटाले सातै प्रदेशका उपसभामुखहरुसँग पनि छलफल गरी प्रदेशको वस्तुस्थितबारे जानकारी लिएका छन्। टेलिफोन छलफलमा उपसभामुखहरुले संघीय सरकार, प्रदेश सरकार र स्थानीय सरकारको समन्वयमा काम हुनुपर्ने धारणा राखेका थिए।
सापकोटाले प्रदेश १ का उपसभामुख सरस्वती पोखरेल, प्रदेश २ का उपमा देव, बागमती प्रदेशका राधिका तामाङ, गण्डकी प्रदेशका सिर्जना शर्मा, प्रदेश नं ५ का कृष्णी थारु, कर्णालीका पुष्पा घर्ती र सुदुरपश्चिम प्रदेशका उपसभामुख निर्मला बडालसँग छलफल गरेका हुन्।
सभामुख र उपसभामुखहरुसँगको छलफलका क्रममा आएका विषयहरुलाई संघीय सरकारसँग समन्वय गरी समस्या समाधानका लागि सहजीकरणका गरिने सभामुख सापकोटाले बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।