कञ्चनपुर- नेपाल भारतको संयुक्त सीमा सर्वे फिल्ड टोलीको सर्वेक्षणमा कञ्चनपुरको बेलौरी नगरपालिका–१० भुडाका डेढ दर्जन परिवारको जग्गा भारतमा परेको देखिएको छ।
संयुक्त सीमा सर्वे टिमको नक्सांकनमा भुडाको १५ बिघाहासम्म जमिन भारतमा देखाइएको हो। भारतमा परेका जमिनमा स्थानीयले जग्गाधनी पूर्जा बनाएर वर्षौंदेखि भोगचलन गर्दै आएका छन्। भारतीय सीमा कम्बोजनगर छुट्याउने ३४ नम्बर सीमा स्तम्भ नजिकको जमिन भारतमा परेको छ। यस क्षेत्रमा सीमा नक्सांकन गरिएको छ।
स्थानीय टीकाराम पन्तले २० परिवारको १५ बिघाहाभन्दा बढी जमिन भारतमा परेको बताए। 'कम्बोजनगर एसएसबीको चौकी नजिकको ३४ नम्बर सीमा स्तम्भभन्दा ३० मिटर उता नै जमिन थियो,' उनले भने, 'पहिला त्यहाँ खल्ला थियो, अहिले त यताको जमिन त उता पारिएको छ।'
साबिक ३४ नम्बर सीमा स्तम्भको सट्टा नयाँ ७८२ नम्बरको सीमा स्तम्भमा सूचना टाँस गरिएको छ। यसले केही परिवार घरबारविहीन हुने अवस्थामा पुगेका छन्।
यसअघि कम्बोजनगर एसएसबी पोस्टका सुरक्षाकर्मी सो जमिनमा गस्तीका क्रममा समेत नआएको स्थानीय बताउँछन्।
स्थानीयले दर्ता जमिन नकाटेर साविक कायम हुनुपर्ने माग अघि सारेका छन्। 'यो जमिन दर्ता हो, दर्तालाई किन काट्ने?' पन्तले भने, 'त्यो जमिन जसको हो, उसैको हुनपर्ने माग गरेका छौँ।'
तत्कालीन राजा महेन्द्रले विसं २०२८ मा उनीहरुलाई सीमा क्षेत्रमा बसाएका थिए।
प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काले संयुक्त सीमा सर्वेक्षणमा दुवै देशको जमिन एक अर्काकोमा पर्न सक्ने बताए। 'यताको जमिन उता जान सक्छ, उताको यता आउन सक्छ,' उनले भने, 'यो स्वभाविक नै हो।'
संयुक्त टिमले भुडामा नक्सांकन गरी रेकी लगाइसकेको छ। प्रमुख जिल्ला अधिकारी खड्काले कञ्चनपुरमा भने कुनै ठाउँमा पनि सीमा विवाद नदेखिएको दाबी गरे।
भुडाका चन्द्रदेव पन्त, विक्रम थापा, धनीदत्त भट्ट, भवानी भट्ट, मानसिंह थापा लगायतको जमिन अहिले भारततिर देखाइएको छ।
नेपाल भारतबीच जोडा र बेजोडा सीमा स्तम्भ मर्मत गर्ने सहमति विगतमा गरिएको थियो। त्यसअनुसार भारतको भागमा जोडा र नेपालले बेजोडा सीमा स्तम्भ मर्मत गर्ने छ।
गत वर्ष सीमा विवादमा पुनर्वास नगरपालिकास्थित आनन्द बजारमा स्थानीय गोविन्द गौतमको ज्यान समेत गएको थियो।रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।