काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालबीच कुरा नमिल्दा प्रहरी महानिरीक्षक नियुक्तसम्बन्धि निर्णय लम्बिएको छ। ओली र प्रचण्डले रोजाईमा फरक फरक व्यक्ति परेपछि मंगलबारको मन्त्रीपरिषद्को बैठकले निर्णय गर्न नसकेको हो। कसलाई आईजिपी बनाउने भन्ने तय नहुँदा गृहमन्त्री रामबहादुर थापाले मंगलबारको बैठकमा प्रस्ताव नै पेश गरेनन्। मंगलबार बिहान बढुवा सिफारीस समितिको बैठकमा छलफल भएपनि प्रधानमन्त्रीबाट प्रष्ट जवाफ नआउँदा प्रक्रिया अघि बढ्न नसकेको गृहका एक अधिकारीले बताए। स्रोतका अनुसार ओलीको रोजाईमा पुष्कर कार्की तथा प्रचण्डको रोजाईमा सर्वेन्द्र खनाल परेका छन्। नेपाल प्रहरीमा कुरा नमिलेकाले सशस्त्र प्रहरीको आईजिपी नियुक्ति प्रक्रिया पनि अघि बढेन। नेपाल प्रहरी र सशस्त्र प्रहरी दुवै संगनठका महानिरीक्षकले बुधबारदेखि अवकाश पाउँदैछन्। स्रोतका अनुसार मंगलबार नै आईजिपी नियुक्तिबारे प्रधानमन्त्री ओली र प्रचण्डबीच छलफल हुँदै छ। आजै अर्काे बैठक बसेर आईजिपी नियुक्ति हुने सम्भावना पनि रहेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।