काठमाडौं– फिल्म ‘प्रसाद’को निर्माण घोषणा भएको छ।
निःसन्तानका कारण श्रीमान् श्रीमतीबीच आउने फाटो, अविश्वास, त्यसबाट उत्पन्न हुने मानसिक द्वन्द्वलाई लिएर बन्न लागेको फिल्म ‘प्रसाद’लाई दिनेश राउतले निर्देशन गर्नेछन्। सञ्चारकर्मी सुशील पौडेलको कथा लेखनमा बन्ने फिल्ममा अभिनेता विपीन कार्की र अभिनेत्री नम्रता श्रेष्ठ मुख्य भूमिकामा रहनेछन्।
समाजमा देखेका र आफूले बुझेको विषयलाई फिल्मको कथामार्फत प्रस्तुत गर्ने प्रयास गरेको लेखक पौडेलले बताए। फिल्म बनिसकेपछि दर्शकले मन पराए आफूलाई भाग्यमानी ठान्ने र दर्शकको मनमा फिल्म बस्न नसके यसबाट नयाँ पाठ सिकेर मेहनतका साथ अझ अघि बढ्ने सोचमा रहेको उनी बताउँछन्।
सुवास थापाको निर्माणमा बन्ने फिल्ममा विपीन र नम्रताका साथ नवीन मानन्धर पनि मुख्य भूमिकामा देखिनेछन्। फिल्ममा राजेश श्रेष्ठको छायांकन तथा सुवास भुसाल र कोसिस क्षेत्रीको संगीत रहनेछ।
फिल्म बैसाख पहिलो साताबाट छायांकनका लागि फ्लोरमा जाने निर्माता थापाले जानकारी दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।