राजविराज– गत साउनमा आएको बाढीका कारण कृषि क्षेत्रमा क्षति ब्यहोरेका किसानलाई लक्षित गरी सप्तरीसहित तराईका जिल्लामा राहतका कार्यक्रम सञ्चालन हुन थालेका छन्।
यसै क्रममा एनएमबी बैंकले सप्तरीका १ सय २० जना किसानलाई ८ लाख ५० हजार रुपैयाँ बराबरको बिउबिजन सहयोग गरेको छ। बाढीका कारण धान तथा तरकारी खेतीमा क्षति ब्यहोरेका किसानलाई बेमौसमी खेती मार्फत आर्थिक उपार्जनमा सहयोग गर्ने उद्देश्यले बिउ वितरण गरिएको बैंकका प्रमुख कार्यकारी अधिकृत सुनिल कार्कीले बताए। बैंकले प्रतिपरिवार ११ प्रकारका तरकारीको बिउ उपलब्ध गराएको छ।
यसअघि अस्ट्रेलियन सरकार र अन्तर्राष्ट्रिय पर्वतीय केन्द्र (इसिमोड) को सहकार्यमा सप्तरीका बाढी प्रभावित र सुख्खाग्रस्त क्षेत्रमा २३ वटा ‘पानी तान्ने सौर्य पम्प’ सञ्चालनमा ल्याइएको छ। अस्ट्रेलियन राजदूत पिटर वटले सप्तकोसी नगरपालिका ४ बलार्दहबाट त्यसको उद्घाटन गरेका छन्।
कुल ३ लाख ८० हजार पर्ने पम्पका लागि इसिमोडले ६० प्रतिशत अनुदान दिएको छ। किसानले सरदर कुल १ लाख ५२ तिर्दा ५ बिगाहा खेतमा सिँचाइ गर्न सक्ने पम्प जडान गर्न सकिने निर्देशक वसन्त श्रेष्ठले जानकारी दिए।
खाँडो, महुली, जिता, त्रियुगा, बलान, अमाहा, सुन्दरी लगायतका खोलामा आएको बाढीले सप्तरीमा कुल १ अर्ब ४० करोडको क्षति भएको थियो । जिल्ला विपद् व्यवस्थापन कोषको रेकर्ड अनुसार ४ हजार ३ सय ६७ परिवारको ३ हजार ३ सय १२ दशमलब ५ हेक्टर धानबाली नष्ट हुँदा १८ करोड ७१ लाख ६२ हजारको क्षति भएको थियो।
९ सय ८९ पशु चौपाया बाढीले बगाएको र मरेको रेकर्ड छ। १ सय ६९ परिवारको १६० दशमलव ९० हेक्टरको माछा पोखरीमा क्षति पुग्दा ४ करोड १७ लाख ५९ हजार ५ सय रुपैयाँ नोक्सान भएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।