क्वालालम्पुर– मलेसिया सरकारले लगाएको लकडाउनका कारण समस्या भए दूतावासको सम्पर्कमा आउन मलेसियास्थित नेपाली दूतावासले त्यहाँका नेपालीहरूमा आग्रह गरेको छ। कोभिड १९ (कोरोना भाइरस) संक्रमण नियन्त्रणका लागि मलेसिया सरकारले आवागमनमा प्रतिबन्ध लगाएपछि थुप्रै नेपाली श्रमिकहरुको हवाई टिकट रद्द भएको छ। कतिपयको भिसा अवधि सकिने अवस्थामा छ। यस्तो अवस्थाका नेपालीहरूले आफ्नो विवरण दूतावासमा सम्पर्क राख्न दूतावासले आग्रह गरेको हो।
कोरोना भाइरस संक्रमण रोकथामका लागि मलेसियाले १८ मार्चदेखि १४ अप्रिल सम्म लागू हुने गरी गरिएको आवागमन प्रतिबन्ध लगाएको छ। सो समयमा नेपाल फिर्ता हुने टिकट रद्द भएका र यो अवधिमा भिसा सकिने अवस्थाका नेपालीहरुलाई दूतावासमा विवरणसहित उपस्थित हुन आग्रह गरेको हो।
यस्तो अवस्थाका नागरिकले दूतावासमा आफ्नो विवरण २ अप्रिल दिउँसो १ बजेभित्र जानकारी गराउन दूतावासले आग्रह गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।