नुवाकोट- जितपुर–ओखरपौवा सडकखण्ड मिनीट्रकको ठक्करबाट महिलाको मृत्यु भएको घटनाको विरोधमा ओखरपौवाका स्थानीयवासीले अवरोध पुर्याएको जितपुर–ओखरपौवा सडकखण्ड सञ्चालनमा आएको छ।
पीडित परिवारलाई उचित क्षतिपूर्ति र दोषी चालकलाई कारबाहीको माग राखेर बन्द गराइएको सडक खुलाउन गाडीधनी ककनी गाउँपालिका–३ का पोषनाथ तामाङले सहमति जनाएपछि आइतबार साँझ ७ बजेदेखि गाडी चल्न थालेको प्रहरी निरीक्षक लालबाबु शाहले जानकारी दिए।
शनिबार राति बा५ख २५२३ नं को मिनीट्रकको ठक्करबाट ककनी गाउँपालिका–१ स्थित महालक्ष्मीकी ३० वर्षीया सीता बलामीको घटनास्थलमा नै मृत्यु भएको थियो। उक्त घटनाबाट पीडित बलामी परिवारसँग अस्थायी प्रहरी चौकी ओखरपौवामा दिनभर भएको छलफलमा गाडीधनी तामाङले मागअनुसार क्षतिपूर्ति रकम दिन सहमति जनाएपछि सडक सञ्चालनमा आएको हो।
स्थानीयवासीको मागअनुसार प्रहरीको रोहबरमा पीडित परिवारलाई उचित क्षतिपूर्ति र दुर्घटनाको छानबिन गरी लापरबाही पाइएमा चालकलाई कारवाही गर्ने पीडित परिवार र गाडीधनीबीच सहमति भएको छ।
घटनाको विरोधमा ओखरपौवा क्षेत्रका बासिन्दाले दिनभर विरोध प्रदर्शन गर्दै गाडी सञ्चालन बन्द गराउँदा काठमाडौँबाट फोहर बोकेर आएका सयभन्दा बढी गाडी जितपुरफेदीमा नै रोकिएका थिए।
सडक सञ्चालनमा आएसँगै रोकिएका गाडी फोहर विसर्जन गर्न सिसडोल (डम्पिङ क्षेत्र) तर्फ गएका छन् भने काठमाडौँमा रोकिएका गाडी पनि फोहर फ्याँक्न आउन थालेका छन्।रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।