काठमाडौं– नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पार्टीका स्थानीय तह समन्वय विभाग प्रमुख अर्जुन जोशीले कोरोनाको महामारीबाट सन्त्रस्त भएका बेला स्थानीय सरकारको जिम्मेवारी बढेको बताएका छन्। यस्तो बेला स्थानीय सरकारले आफ्नो टोलछिमेकमा विदेशबाट आएकाहरूको लगत राख्नुपर्नेमा उनले जोड दिएका छन्।
‘आम नागरिकलाई सुरक्षित राख्न विदेशबाट आएका नागरिकको पहिचान गरी लगत राख्न र शंका लागेमा क्वारेन्टाइनको व्यवस्था गर्न स्थानीय निकाय अग्रसर हुन हार्दिक आग्रह गरिन्छ,’ विभागीय प्रमुखका नाताले जोशीले सोमबार विज्ञप्ति जारी गर्दै भनेका छन्, ‘गाउँगाउँमा आवश्यक जनचेतनामूलक कार्यक्रम, क्वारेन्टाइन, सुरक्षित एकान्तबासको निर्माण गर्नुपर्छ।’
उनले यो अवस्थामा विपन्न घर परिवार पहिचान, स्थानीय सर्वेक्षण, रोजगार सूचना संकलन र वितरण जस्ता महत्वपूर्ण कार्य स्थानीय सरकार, वडा तहको संयन्त्र नै तयार गरी सोही निकायमार्फत प्रभावकारी वितरण गर्न सकिने बताएका छन्। साथै तीनै तहमार्फत् सामाजिक सुरक्षा योजना कार्यान्वयन र व्यस्थापन गर्न सकिने पनि जोशीले विज्ञप्तिमा उल्लेख गरेका छन्।
नेता जोशीले आफ्नो विज्ञप्तिमा ‘आवश्यक परे केही समयका लागि स्थानीय सरकार र पालिकाहरुले घर जग्गा, घर बहाल कर छुट दिने व्यवस्था मिलाउन सक्ने कुरा समेत सोच्न सकिने’ उल्लेख गरेका छन्।
अन्तरवासका बेला दैनिक ज्यालादारी र न्यून आय भएकाको दैनिक गुजारा चलाउने प्रबन्ध गर्न तीनै तहका सरकारको साझा जिम्मेवारीको विषय रहेको समेत विभाग प्रमुख जोशीले बताएका छन्।
उनले भनेका छन्, ‘सबै सरकारहरुबाट कोरोना बढ्न नदिन तथा भोकमरीबाट बचाउन बेलैमा बलियो आधार तयार गरी, बेरोजगार घर, परिवारका लागि राहतका प्याकेज घोषणा गर्न सरकारको ध्यानाकर्षण गरिन्छ।’
कोरोना संक्रमको सन्त्रास बढिरहेका बेला जनतालाई स्वास्थ्य सेवाप्रति आश्वस्त पारिनुपर्ने र त्यसका लागि स्वास्थ्यकर्मीहरुको समेत अधिकतम परिचालन हुनुपर्नेमा उनले जोड दिएका छन्। भनेका छन्, ‘यस्तो बेला धेरैभन्दा धेरै स्वास्थ्यकर्मी परिचालन गर्न तीनै तहका सरकारसँग आग्रह गरिन्छ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।