नेपालगन्ज– बलात्कारका घटना बढिरहेको भन्दै नेपालगन्जका किशोर–किशोरीले सुरक्षाको माग गर्दै प्रदर्शन गरेका छन्।
पछिल्लो समय बालिकादेखि वृद्धाहरु समेत बलात्कारको सिकार भए पनि फितलो कानुनी व्यवस्थाका कारण बलात्कारीहरु सहजै उम्कने गरेको भन्दै किशोर–किशोरीले दोषीलाई फाँसीको सजाय हुनुपर्ने माग गरेका छन्।
उनीहरुले महिला हिंसाका घटनामा शून्य सहनशीलताको नीति अवलम्बन गर्दै दोषीमाथि कडा कारबाहीको माग गरेका छन्। बलात्कारका घटना बढ्दै जाँदा सरकारले दोषीमाथि कारबाही गर्न र पीडितलाई न्याय दिन नसक्दा स्थिति भयावह बन्दै गएकाले सडकमै उत्रेर सरकारको ध्यानाकर्षण गराउनुपरेको बाल अधिकारकर्मी यम गिरीले बताए।
जिल्ला प्रहरी कार्यालय बाँकेको पछिल्लो तथ्यांक अनुसार बाँकेमा साउनदेखि फागुनसम्मको अवधिमा बलात्कारका २२ वटा घटना दर्ता भएका छन्। ती २२ वटा घटनामा १० वर्षभन्दा कम उमेरका ३ जना र १६ वर्षभन्दा कम उमेरका ५ जना किशोरी बलात्कृत भएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।