हालै एक नेपाली ट्वीटर प्रयोगकर्ताले लेखे- श्रीमान विदेशतिर, बिरामी सासु ससुरालाई गाउँमै छाडेर सहर पसेकी च्याखुरी कोरोनाको डरले बच्चाबच्ची लिएर गाउँतिर लागिछे। के अब उसले गएर त्यही कालो कराइ माझेर सेतै बनाउली त?
सरसर्ती पढ्दा कसैलाई उडाइएको र हाँसीमजाक गरिए जस्तो लागे पनि यसले गम्भीर अर्थ बोकेको देखिन्छ।
दशैं तिहार वा ठूलै काम नपरी गाउँ नफर्कने र ‘अब त उता गएर के बस्न सकिएला र?‘ भन्नेहरुले कोरोनाको आतंकले रातभर नयाँ बसपार्कको टिकट काउण्टरमा लाइन बसी गाउँ पुगेर घाँस दाउरातिर लागेको भन्दै सन्जालतिर फोटो टाँसेको देखिन्छ।
यसरी यो महामारीले मानिसको सामाजिक र आर्थिक रुपान्तरणमा धेरै फरक पार्ने आकलन गरिएको छ। यो लेखमा यही महामारीले अन्तर्रास्ट्रिय सम्बन्धमा के कस्तो असर पार्ला भन्ने विषयमा केही विदेशी आलेखहरु जोडजाड पारेर अनुवाद गरिएको छ।
विश्वमा लाखौं मानिस कोरोना भाइरसका कारण एकान्तवासमा बसिरहँदा अन्तर्रास्ट्रिय राजनीतिमा चासो राख्नेहरुले अबको राजनीतिमा अमेरिका एक मात्र विश्व खेलाडी रहन नसक्ने आकलन गर्न लागेका छन्।
वासिंटन, गृह मन्त्रालय तथा सेण्टर फर डिजिज कन्ट्रोल एण्ड प्रिभेन्सनको काम कारबाहीले अमेरिका महामारी नियन्त्रणमा उदासिन मात्र होइन, ती निकायको क्षमता र आत्मविश्वासमा समेत प्रश्न खडा गरिदिएको छ।
देशका सरकारी र निजी निकायसँग रोग विरुद्ध चाहिने उपकरणको अभाव भइरहँदा राष्ट्रपति ट्रम्पको सम्बोधन वा उनले गर्ने ट्विटले विवाद, अविश्वास र अनिश्चता मात्र बढाएको छ। यसबाट विश्वव्यापी समस्या आउँदा वासिंटन कति पनि तयारीमा छैन र नेतृत्व प्रदान गर्न पनि अक्षम छ भन्ने देखाउँछ।
विगतका कैयौं दशक विश्व महाशक्ति बनेको अमेरिका एकाएक शक्तिशाली भएको हैन। त्यसका लागि देशको आन्तरिक प्रशासन, देशभित्रको शिक्षा र स्वास्थ्य व्यवस्थाका साथै विश्वव्यापी संकटको व्यवस्थापन गर्नै ईच्छा र क्षमता पनि हो। तर अहिलेको संकटमा वासिंटन यी सबै क्षेत्रमा असफल हुँदै गएको छ।
वासिंटननको यो कमजोरी भइरहँदा बेइजिङ भने महामारीको व्यवस्थापमा नेतृत्वदायी भूमिकामा आइसकेको देखिन्छ। उसले यसबीचमा स्वास्थ्य उपकरण, स्वास्थ्यकर्मी मात्र पठाएन, आफ्नो प्रविधि र प्रणाली समेत अरुलाई दिन सकेको देखिन्छ। वासिंटनको यो अनिच्छा वा अक्षमता जे भनेपनि यही गतिमा बेइजिङ अघि बढ्यो भने अबको शताब्दीको विश्व नेतृत्वकर्ता बेइजिङ हुने देखिन्छ।
सुरुको अवस्थामा चीनले सूचना लुकाएको, संक्रमणको समयमै खबर नगरेको र विश्व स्वास्थ्य संगठनलाई सही जानकारी नदिँदा वुहानमा ठूलो क्षति पुगेको आरोप लागेको थियो। पछि भने चीनले कुशलतापूर्वक काम गरेको देखिन्छ। हुन त चीनको अवस्था अझै सामान्य भइसकेको छैन तर जुन स्तरमा उसले विश्वलाई सहयोगी हात बढाएको छ, त्यसबाट ऊ अब बिस्तारै विश्व राजनीतीको नेतृत्वमा रहने दाउमा छ भन्ने देखिन्छ।
चीनको सफलताका सूत्र अहिले संसारका सबै देश र भाषाहरुमा छरपष्ट भइसकेका छन्। विदेश मन्त्रालयका प्रवक्ताले चिनिया शैली र प्रणालीलाई महामारी विरुद्धको नयाँ शैली भनिसके। अर्थात्, चिनिया प्रविधि र शैली अब विश्यव्यापी प्रणाली भइसक्यो।
पश्चिमी देशहरुको तुलनामा चीनले एकद्वार प्रणालीबाट सूचना प्रवाह गरिरह्यो। जबकी पश्चिमी र अन्य मुलुकहरु आफ्नो मुलुकको वास्तविक अवस्थाबारे अन्यौलमै रहिरहे। वासिंटनले न त झन् महामारीविरुद्ध लड्न आफूसँग स्रोत साधन र जाँच गर्ने उपकरण नै पर्याप्त नभएको भन्दै सीमित मात्र परीक्षण गर्ने भन्यो। यसलाई वासिंटनको अक्षमता र गैरजिम्मेवारी शासकको रुपमा अखबारहरुले चित्रित गरे। त्यती मात्र होइन, रुसी शैलीमा चीनले यो भाइरस अमेरिकी सेनाले फैलाएको भन्न सम्म भ्याए।
संसारमा संकट परेको बेला अत्यावश्यक आवश्यक सामान दिएर मात्र विश्व नेतृत्वकर्ता बनिने एउटा गुण प्राप्त हुन्छ भन्ने कुरा चिनिया राष्ट्रपति सीले राम्रोसँग बुझेका छन्। चिनीया विदेश नीतिको मानकलाई कसरी विश्व प्रशासनमा प्रभावकारी बनाउने भनेर वषौं प्रयासरत सीलाई यो दर्शनलाई व्यवहारमा उतार्न यो महामारी एउटा अवसर भएर आयो।
मास्क, भेन्टिलेटर, औषधिलगायत अत्यावश्यक सामग्रीको तत्काल सहयोग र त्यसको व्यवस्थित प्रचार प्रसार हेर्दा चीनको कुशलता र क्षमता अदभूत देखिन्छ। केही समयअघि त्यस्ता सामान अरुबाट सहायता लिएको र किनेको चीनले छोटो अवधिमा, आफू संकटकै बीचमा पनि ती सामाग्री उत्पादन गरेर अरुलाई निःशुल्क पठाउन सक्यो।
इटलीले स्वास्थ्य सामग्री र अन्य सहयोगको याचना गर्दा युरोपियन युनियन मौन बसिरहँदा चीनले हजार भेण्टिलेटर, लाखौं मास्क, ५० हजार जाँच गर्ने उपकरण लगायत सामग्री पठाउने घोषणा गर्यो।
त्यसैगरी, इरानमा पनि लाखौं मास्क र अन्य सामग्री तत्काल पठायो। सर्वियाका राष्ट्रपतिले त चिनिया समकक्षीलाई दाजुभाइको नाता लगाउँदै सहयोगको याचना गरे। चिनिया धनाढ्य ज्याक माले अमेरिकालाई जाँच गर्ने सामाग्री र अफ्रिकाका सबै ५४ देशलाई २० हजार जाँच गर्ने सामाग्री र १ लाख मास्क दिने घोषणा गरे। माले नेपाल लगायत एसियाली मुलुकलाई पनि सहयोगको घोषणा गरेका छन्।
चीनको यो सहयोगबाट के देखिन्छ भने भाइरस विरुद्ध चाहिने सबै सामाग्री चीनमा बन्छन् र सरकारले उद्योगहरुलाई युद्धस्तरमा उत्पादन गर्न लगाई सरकारलाई बेच्न लगायो र संसारलाई दिन सक्यो। चीनमा रहेका विदेशी कारखानालाई समेत उत्पादन गर्न मात्र लगाइएन कि मोटर बनाउने कम्पनीले समेत मास्क बनाएर बसे।
बेइजिङले स्वास्थ्य सामग्रीको साथ आफ्नो विदेश नीतिको एउटा औजार पनि विश्वभर पुर्यायो। औजार मात्र कहाँ हो र? संसारले उत्पादन गर्ने एण्टिबायोटिकका लागि चाहिने कच्चा पदार्थको मुख्य स्रोत नै चीन हो।
उता अमेरिकाको कुरा गर्दा स्वास्थ्य सामग्री अरुलाई सहयोगको त परको कुरा भयो, आफ्नै देशको लागि चाहिने पनि उसँग भएन। आफूलाइ चाहिने मध्ये मास्क १ प्रतिशत र भेण्टिलेटर १० प्रतिशत मात्र जगेडामा रहेको तथ्यांक बाहिर आएको छ। त्यसको परिपूर्ति गर्न कि त चीनबाट ल्याउनुपर्यो वा त्यहींका उद्योगहले रफ्तारमा उत्पादन गर्नुपर्यो। त्यसैगरी, अमेरिकाको एन्टिबायोटिक उत्पादनमा ७५ प्रतिशत चीनकै भर रहेको छ। हुन त वासिंटनले बेइजिङलाई सहयोग गर्ने बताएको थियो तर अहिले त्यसो गर्न सक्ने अवस्थामा छैन। बरु बेइजिङ सहयोग लिएर संसारभर पुगेको छ।
विश्वव्यापी संकट समाधानमा स्वास्थ्य सामग्री सहायता मात्र विश्व नेतृत्वको एउटा मानक बन्न नसक्ला। सन् २०१४-१५ को इबोला संकटको बेला अमेरिकाले दर्जनौं देशलाई सम्मिलित गरेर समूह बनाई रोग रोकथामका लागि नेतृत्व गरेको थियो। तर, कोरोना विरुद्धको लडाइँमा भने ट्रम्प प्रशासन उदासिन मात्र होइन, आफ्ना सहयोगी देशहरुसँग पनि सहकार्य गर्न अनिच्छुक देखिन्छ। जस्तै पूर्व सूचना बिनै युरोपियन देशसँगको हवाइ सम्पर्क विच्छेद। त्यसको विपरित चीनले भने आक्रमक कुटनीतिक कदम चाल्दै दर्जनौं देश र सयौं अधिकारीसँग भिडियो सम्पर्क गर्दै आफ्नो अनुभव सुनाएको छ र सहयोगको बचन दिएको छ। र ती कदमहरुको राम्रो प्रचारप्रसार पनि गरिएको छ।
चिनिया नेतृत्वबाट कोरोना महामारीको तत्काल प्रभावकारी सम्बोधन र त्यसमा अमेरिकी उदासिनता नै विश्व नेतृत्व बन्ने मार्गमा चिनिया फड्को देखिन्छ। अब यो रफ्तार कसरी अगाडि बढ्छ भन्ने कुराचाहिँ वासिंटनले नेतृत्वको लक्षण अर्थात देशभित्र समस्या समाधान गरी विश्वभर सहयोग र संयोजन गर्न सक्यो भने मात्र पासा पल्टिन सक्ला।
त्यसको पहिलो शर्त भनेको महामारीबाट आफ्नै देशलाई बचाउन सक्नु र त्यसका लागि चाहिने उपकरण सहजै उपलब्ध गराउन सक्नु हो। अर्को भनेको सरकारी र गैर सरकारी निकाय र अनुसन्धानदातालाई श्रोत साधन उपलब्ध गराएर कोरोना विरुद्धको औषधि र खोपको आविष्कार र उत्पादन गराउनु हो। यो काम गर्न ठूलो धनराशीको आवश्यकता पर्ने हुँदा सरकारको प्रत्यक्ष सहयोग र हस्तक्षेप आवश्यक छ। यसबाट संसारलाई ठूलो राहत मिल्ने छ।
विश्वव्यापी संकटमा अन्तर्राष्ट्रिय खेलाडी हुनको लागि कुशल नेतृत्वको आवश्यकता हुन्छ जसले अत्यावश्यक सामानको विश्वव्यापी वितरण, सही सूचना प्रवाह र आवतजावतको उचित समन्वय गर्न सकोस्। दशकौंसम्म नेतृत्व गरेको देशले यस्तो फेरि गर्न नसक्ने पक्कै होइन।
वासिंटनले बेइजिङसँग शत्रुताको व्यवहार वा प्रतिस्पर्धाभन्दा पनि सहकार्य गरेर यो विश्वव्यापी संकटबाट पार लगाउन हातेमालो गर्न सक्छ। औषधि र खोपका लागि संयुक्त प्रयास गर्न सक्छ।
एउटा कुरा चाहिँ स्पष्ट के हो भने अमेरिकाको यही गतिमा अब ऊ विश्व महाशक्तिमा टिकिरहनचाहिँ गाह्रै देखिन्छ।
स्रोतहरु-
https://www.foreignaffairs.com/articles/china/2020-03-18/coronavirus-could-reshape-global-order?fbclid=IwAR2qQOf1ILzC4TPsZsWPTngVvIqdg9a5JnHBgYnpnFyqm2peANnyowffWhI&utm_campaign=cta_share_buttons&utm_medium=social&utm_source=facebook_cta
https://foreignpolicy.com/2020/03/20/world-order-after-coroanvirus-pandemic/
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।