नेपाल कम्युनिस्ट पार्टीका नेता भीम रावलले आफ्नो पिएचडीको थेसिस डिफेन्स नसकी ट्विटर ह्यान्डिललाई भीम रावल पिएचडी थपिदिए भने चर्चित कानुन व्यवसायी भीमार्जुन आचार्यले पनि ट्विटर ह्यान्डिलमै पिएचडी झुन्ड्याएका छन्। यसबाट हामी आफ्नो कमाईप्रति कति गर्व गर्छौं वा त्यो डिग्रीलाई कति महत्व दिन्छौं भन्ने सानो झल्को दिन्छ। पहिलेका नामहरू यसो याद गर्नुभयो भने एमए सकेपछि थरको पछाडि आचार्य र स्नातक सकेपछि शास्त्री थप्ने चलन थियो।
लेखपढको काममा लागेको धेरै वर्ष भएपनि मैले अहिलेसम्म पिएचडीको डिग्री लिइसकेको छैन तर डाक्टरसापको पदवीले विभुषित हुन थालेको धेरै भइसकेको छ। हामी काठमाडौं विश्वविद्यालय स्कुल अफ म्यानेजमेन्टका साथी भाइहरू एक आपसमा यसै ओइ डाक्टरसाप भनेर बोलाउने गर्थे।
जब सुरेशराज शर्माले उपकुलपति छोड्नु भयो र उहाँको ठाउँमा धुलिखेल अस्पतालका डाक्टर रामकण्ठ मकाजु श्रेष्ठ उपकुलपति भएर आउनुभयो उहाँका त सबै सहकर्मी डाक्टरै डाक्टर। त्यसैले उहाँलाई के बानी परेको रहेछ भने देखेजति र भेटेजति सबैलाई डाक्टर साब भन्दिने। उहाँ हाम्रो स्कुलमा आएर पनि हामी सबैलाई डाक्टर साब् बनाइदिनु भयो।
यसबाट साँच्चिकै पिएचडी डाक्टरसाबहरूलाई त केही फरक परेन तर डाक्टर नभइसकेका हामीजस्तालाई फरक पर्यो। यसै त हल्का फुल्का डाक्साप भन्न थालेका हामी अब ढुक्कैले एक आपसमा डाक्टरसाप भन्न थाल्यौं‚ जुन अहिले पनि जारी नै छ।
त्यही मेलोमा एक पटक हामी केही साथीहरू भएर एक जना साथीलाई घडेरी किन्न भनेर ललितपुरको इमाडोलमा गएका थियौं। बानी त्यही नै हो सबैले सबैलाई डाक्साप भन्ने। जब जमिनको भाउको रस्सकस्सीको कुरा भयो, जमिन बेच्नेले भने‚ ‘लौ सरहरु डाक्टर हुनुहुँदो रहेछ, हामीलाई पनि यस्ता मान्छे छिमेकमा राख्न पाए जाति हुने भनेर पहिले भनेको मूल्यभन्दा आनामा एक लाख रकम कम गरेर जमिन दिन राजी भए। नक्कली डाक्टर सापको कमाल, ती साथीले जमिन किने पनि, उनले हालै अमेरिकाबाट पिएचडी सके। अर्का एक जना बल्लतल्ल एमफिलमा संघर्ष गर्दैछन् भने म चाहिं मास्टर लेवलमै रमाइरहेको त माथि नै थाहा पाइहाल्नु भयो।
पश्चिमाहरूले आजकल पिएचडी गर्दैमा नामको अगाडि डाक्टर लेख्न वा पछाडि पनि पिएचडी लेख्न छाडिसकेका छन् तर यता हामी भने पिएचडी गरेपछि अर्कोले डाक्टरसाहेव भन्दिएमा खुशी हुने चरणमै छौं। मैले चिनजानेका धेरै पिएचडीधारीहरुले आफूलाई सर वा पदले भन्दा पनि डाक्टरसाहेव भन्दिओस् भन्ने पाएको छु।
त्यसैगरी, सामाजिक सञ्जाल तिर पिएचडीधारीहरुको एक आपसमा हरेक वाक्यमा डाक्टर साप कि डाक्टरसाप जोडेर गफ गरेको हेर्दा उनीहरु विषयवस्तुमा भन्दा त्यही डाक्टरपास शब्दमा रमाएको देख्न सकिन्छ।
विश्वविद्यालयमा पढाउने भएर होला धेरैको अपेक्षा पक्कै पनि यो पिएचडी नै होला भन्ने अपेक्षा हुने रहेछ, त्यसैले सेमिनार, पेपर प्रिजेन्टेसन वा अन्य वार्तालापका इमेलहरुमा सिधै- डियर डाक्टर फलानो लेखेर आउँछन्। त्यसैगरी त्यस्ता कार्यक्रमहरुमा सहभागी भैरहँदा अब आउँदै हुनुहुन्छ डाक्टर फलानो भन्दा चाँहि यहाँ हामीले खेलचारीले भन्ने गरेको नक्कली डाक्टरसाप बोझिलो हुनेरहेछ।
एक पटक एक जना ठूलै महानुभावकहाँ जागिर माग्न जाँदा, के गर्नु रमेशजी तपाईंको पिएचडी रहेनछ नत्र त विचार गर्न हुन्थ्यो भन्ने जवाफ पाएबाहेक मलाई कसैले पिएचडी मागेको त छैन अहिलेसम्म, अँ त्यो ठाउँमा पछि बुझेको योग्यता नखुलेका एक जना ठुलै मान्छेका नातेदार नियुक्त भएका रहेछन्। यस्ता सानातिना घटनाहरु र पिएचडीहरुको लेख तथा विभिन्न फोरममा उनीहरुका तर्क, विचार सुन्दा पिएचडी गर्ने जाँगर मरेर आउँछ।
एकेडेमियामा करिब करिब अनिवार्य भइसकेको पिएचडी आफैंमा महत्वपूर्ण डिग्री हो, तर हाम्रो भने पछिल्लो चरणमा पिएचडी एउटा फेसन र डाक्टर भनिनकै लागि जसरी पनि लिने र डीन कार्यालयहरुले अर्थोपार्जनको एउटा राम्रो साधन बनाएर यसको अवमूल्यन हुँदै आएको छ।
विशिष्ठ ज्ञान र सीप तथा ज्ञानको भण्डारमा एउटा खुड्किलो थप्नुपर्नेमा बिए, एमएजस्तै फगत एउटा डिग्रीको रुपमा पिएचडी पनि पर्नु पक्कै पनि निको होइन। एकातिर पिएचडी गर्नेहरुको संख्या बढ्नु अर्कोतिर यहाँ दश हजारमा थेसिस लेखिन्छजस्ता विज्ञापनको बाढी आउनुले हामीले उत्पादन गर्ने शिक्षित बेरोजगार र घर परिवार वा इष्टमित्रमाझ गरिने फुर्तिफार्ती बाहेक यो शिक्षाले के देला र?
उदाहरणका लागि संजालतिर नेता बाबुराम भट्टराईको पिएचडीलाई पनि उनका बेलाबखतका राजनीतिक भनाइ र गराइलाई लिएर ट्रोल गर्ने गरिन्छ, तर माओवादीले भन्ने गरेको जनयुद्धमा उनको पिएचडीको धेरै योगदान नकार्न मिल्दैन। युवावर्गहरू त्यत्रो पिएचडी गरेको मान्छे यसै त त्यता लागेन भन्नेहरु धेरै भेटिन्थे। तर क्षेत्रीय विकास योजनामा सोध गरेका उनको अध्ययन त्यसका लागि थियो त? उनको त्यत्रो अध्ययनले सो विधामा के योगदान दियो त? उनीलगायत पिएचडी गर्ने हजारौंका लागि यो प्रश्न जायज छ कि छैन?
अन्त्यमा, मेरा एक जना मित्रको घर म बस्ने घर हुँदै जानुपर्छ, उनले घर आउँदा जाँदा ‘ओ ज्ञवाली डाक्साप’ भन्दै बोलाउँदै जान्छन्, यो सधैं सुनिरहेका मेरा घरभेटी दाइलाई यो मान्छे औषधिको डाक्टर नभएपनि पिएचडीवाला पक्कै रहेछ भन्ने परेकाले होला, पहिले रमेशजी र भाइ भन्ने उनले पछिल्लो चरणमा सर भनेर सम्बोधन गर्छन्, यस्तै नक्कली डाक्टरसाब बनेर कतिदिन टोपलिरहनु? त्यसैले अब छिटै कतै पिएचडी ज्वाइन गरौं कि भनेर सोच्दैछु।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।