काठमाडौं- चिनको वुहानबाट सुरु भएको कोरोना भाइरस (कोभिड १९) ले यतिबेला इटालीलाई सबैभन्दा बढी असर गरिरहेको छ। संक्रमण दर बढिरहँदा डर पनि बढिरहेको छ। स्वास्थ्य सेवा दिन नै हम्मे परिरहेको देखिन्छ।
यस्तोमा इटालीमा रहेका फुटबल पत्रकार मार्क डोएलले कोरोना भाइरसका कारण बिताउनुपरिरहेको ‘लकडाउन’को अनुभव कस्तो भइरहेको छ भन्नेबारे आफ्ना अनुभव साटेका छन्। गोल डटमकमा उनले लकडाउनको अनुभवलाई भनेका छन्- ‘असाध्यै निराशाजनक।’
कुराकानीमा रहिरहने धेरै साथीहरु, परिवार र सहकर्मीहरुले सोधिएका छन्- इटालीमा लकडाउनको अवस्था कस्तो भइरहेको छ? नढाँटीकन छोटोमा उत्तर दिनुपर्दा- असाध्यै निराशाजनक।
कुकुर लिएर गएको बिहीबार बिहान (बिहीबार हो भन्नेजस्तो लाग्छ, ठीक याद त छैन) एकैछिन बाहिर निस्कँदा प्रहरीले रोक्नु नै बितेको हप्ताको मेरो सबैभन्दा फरक अनुभव हो।
एउटा हातमा कुकुरले गर्ने फोहोर जम्मा गर्न प्लास्टिक र अर्को हातमा कुकुरको घाँटीमा बाँधिउको पट्टा समातिरहेको थिएँ। प्रहरीको प्रश्न थियो- ‘ए के गर्न बाहिर निस्किएको?’
कस्तो झ्याउ लागिरहेको थियो। त्यसैले मैले पनि ‘तपाइँ गल्फ खेलाडी त होइन?’ भनेर सोधिदिउँ जस्तो लागिरहेको थियो। तर पनि उसको मजाकको मुड नहुन सक्छ भन्ने याद आइहाल्यो र त्यस्तो सोधिनँ।
तर ऊ फुटबल समर्थक भने रहेछ। इटालीमा अरु धेरै जना जस्तै। उसलाई मैले आफू फुटबलसम्बन्धी लेख्ने पत्रकार भएको बताएपछि हाम्रो कुराकानीको समय बढ्यो। प्रश्नहरु पहिलेभन्दा फेरिएका थिए। इटालीको मुख्य लिग डिभिजन सिरि ए कहिलेबाट सुरु हुन्छ भन्ने उसको जिज्ञाशा थियो।
एउटा कुरा चाहिँ के भने हामी दुवै जनाको साझा रुची फुटबल नभएको भए ‘लकडाउन’ को समयमा बिनाकाम बाहिर निस्किने मेरो गल्तीका लागि उसले केही न केही सजाय दिने नै थियो।
त्यसैले मैले चलाखी गर्दै उसले भनेका धेरै कुरामा ‘हो, पक्कै पनि’ को सहमति जनाएँ। जस्तो कि यो सिजनको उपाधि अब युभेन्टसलाई यत्तिकै दिने हो भने त्यो फुटबलका लागि लज्जाजनक हुने उसको तर्क थियो। त्यतिको कुराको सहमतिपछि उसले कुकुरलाई नडुलाई अब घर फर्कने अनुमति दियो।
सुन्दा गाली खाने जस्तो विषय छ तर खुला चौरमा बाहेक अन्य ठाउँमा यो कुकुरले दिसा गर्दै गर्दैन। बोलोग्ना सहरको म बस्ने अपार्टमेन्टबाट खुला चौरको दुरी झण्डै चार सय मिटरको छ। त्यही बीचमा ती प्रहरी भेटिएका थिए। उसका अनुसार चार सय मिटर बाहिर निस्कनु भनेको धेरै टाढा हो। त्यसैले उसले भनेको थियो- ‘अहिलेका लागि त भयो, अबदेखि घरको कम्पाउण्डबाट बाहिर ननिस्कनु होला।’
लकडाउन लागेको सुरुका दिनमा जस्तो अहिले छैन। कोरोना भाइरसको आक्रमण बढ्दै जाँदा लकडाउनलाई पनि कडा पार्दै लगिएको छ। अझ के हुने हो थाहा छैन।
कोरोना भाइरसको संक्रमण फैलिन थालेपछि चीनबाट ल्याइएका दुई जना डाक्टरका अनुसार लकडाउन गर्न ढिलो गरेकाले नै यस्तो महामारीका रुपमा फैलिएको हो। लकडाउन भनिसकेपछि पनि म जस्तै कुकुरलाई दिसा गराउनदेखि बिना काम बाहिर टहल्न मान्छे निस्किदिएका थिए। जुन राम्रो काम थिएन।
लकडाउन अघिका दिनमा जस्तै अहिलेसम्म पनि बोलोग्ना सहरको सडकमा मानिसहरु दौडिरहेको देख्न सम्भव छ। ट्वाइटेल पेपरका लागि हानाहान भएको त छैन तर मानिसहरुमा हुनुपर्ने जति चेतना र समझदारी पनि देखिँदैन।
इटालीमा कोरोना भाइरसको प्रकोपको महामारी रहेको अर्को सहर बर्गामोमा पनि त्यस्तै देखिन्छ। मानिसहरु सचेत बनिरहेका छैनन्। फुटबल क्लब एटलान्टाका कप्तान पापु गोमेज पनि यस्ता अवस्थाहरुमा दुःखी देखिएका छन्। मानिसहरु अनावश्यक रुपमा बाहिर निस्किएको उनलाई मन परेको छैन।
‘सडकका धावकहरु, नक्कली धावकहरु र जो यस्तो अवस्थामा पनि शारीरिक तन्दुरुस्ती खोज्दै सडकमा चौरमा निस्किएका छन् तीनिहरुलाई भन्नुपर्ने छ- ए घरै बस घरमै। यो त अत्ति भो अत्ति नै’, गोमेजले केही दिनअघि इन्स्टाग्राममा लेखेका थिए, ‘हरेक बिहान हामी उठ्दा केही खराब समाचार नै सुन्नुपरिरहेको छ। मानिसहरु मरिरहेका छन् अनि तपाइँहरुको चेत अझै खुल्दैन?’
यदि तपाइँले यस्तो अवस्था बुझ्नुभएको छैन भने लाग्न सक्छ- गोमेज त एक फुटबल खेलाडी न हुन्, किन कोरोना विज्ञ जस्तो बनिरहेका छन्। हो पनि, फुटबल खेलाडीहरु यो विषयका विज्ञ होइनन् तर आवश्यक सल्लाह त अमेरिकी राष्ट्रपति र बेलायतका प्रधानमन्त्रीले पनि दिइरहेकै छन् त।
र मुख्य कुरा के हो भने गोमेज कोरोना विज्ञका रुपमा नभए पनि उनले स्वास्थ्यकर्मी र सम्बन्धित अधिकारीले भनेको कुरा मानेका छन्। बाहिर लखरलखर डुलिहिँडेका छैनन्।
च्याम्पियन्स लिग अन्तिम १६ को पहिलो लेगमा स्पेनिस क्लब भ्यालेन्सियालाई ४-१ ले हराउँदा एटलान्टाका लागि गोमेजको भूमिका प्रमखु थियो। त्यसबेला एटलान्टाको मैदानमा ४० हजारभन्दा बढी दर्शक आफ्नो टिमको ऐतिहासिक जितको उत्साहमा सँगसँगै थिए।
एक पत्रकारका रुपमा आफू पनि त्यस्तो खेलको साक्षी हुन पाउँदा असाध्यै खुसी लाग्छ। र अहिले त्यो जितको झण्डै एक महिनापछि ठूलो खुसीपछिको दुःख र सन्नाटा जस्तो भइरहेको छ।
रोक प्रतिरक्षात्मक क्षमताबारेका जानकार डाक्टर फ्रान्सेस्को ले फोचेले एक पत्रिका कोरिरे डेलोलाई भनेका छन्- ‘कोरोना भाइरस यसरी फैलनुमा भ्यालेन्सिया र एटलान्टाबीचको त्यो खेलमा उपस्थित दर्शक पनि एक कारण हो। एक इन्च पनि फरक नहुने गरी बसेका दर्शक, त्यो हुटिङ गर्दा चिच्याउनु पर्ने शैली, हात मिलाउने, अंकमाल गर्ने जस्ता कामले भाइरस फैलन सहयोग पुगेको हो। त्यसरी त्यत्रो दर्शक राखेर खेल्नु पागलपन नै हो। हुन त त्यो समय सोच्दा अहिले यस्तो होला जस्तो कसलाई लागेको थियो र।’
त्यो त एक उदाहरण हो, कोरोना देखिएपछि पनि इटालीले धेरै गल्तीहरु गर्दै गयो। जसको मूल्य अहिले चुकाउनु परिरहेको छ। तर दुःखको कुरा भने अहिले पनि अरु देशहरुले इटालीको गल्तीबाट पाठ सिकेका छैनन्। त्यस्तै गल्तीहरु गर्दै गइरहेका छन्।
गएको हप्ता मात्रै झण्डै साढे दुई लाख मानिसहरु उपस्थित भएर बेलायत र आयरल्याण्डमा घोडे जात्रा मनाए। त्यसअघि च्याम्पियन्स लिगमा नै लिभरपुल र एथ्लेटिको मड्रिडबीच लिभरपुलको मैदानमा खेल हुँदा विश्वमा कोरोनाको त्रास निकै बढिसकेको थियो। तर पनि उनीहरुले बन्द रंगशालामा खेल खेलाउन आवश्यक सम्झिएनन्। ५३ हजार भन्दा बढी दर्शक उपस्थित थिए।
हो, देशको आर्थिक अवस्थाअनुसार मानिसहरु दैनिक ज्यालादारी गरेर खानेहरुका लागि बन्द कोठामा हप्तौँ बस्न सम्भव हुँदैन। तर सक्ने र मिल्नेसम्मको सुरक्षा त अपनाउनुपर्छ नि।
बोलोग्नामा मेरो एक जना साथी छन्, जो भाषा सिकाउने स्कूल चलाउँछन्। यो अवस्थाले उनको काम अहिले चौपट छ। कर्मचारीहरुलाई तलब दिन सक्ने अवस्था पनि छैन। यस्तोमा उनले अहिले सबै काम अनलाइनमार्फत नै गरिरहेका छन्। जसले अप्ठ्यारो परिस्थितिमा पनि आश्रितहरुले केही कमाइ गर्न सकिरहेका छन्।
सबैले विचार गर्नुपर्ने कुरा हुने र सक्नेले नहुनेहरुका लागि के गर्न सकिन्छ भनेर सोच्नैपर्छ। एकले अर्कालाई मद्धत गरेर नै अगाडि बढ्नुपर्छ।
अर्को त के भने लकडाउनको कुरा आएपछि सहरी क्षेत्रमा विशेषगरी लोम्बार्डीका मानिसहरु भित्री गाउँहरुमा पस्न थाले। त्यो एकैचोटी जस्तो भयो। त्यसले भाइरस अरु क्षेत्रमा फैलाउन मद्धत गरेको जस्तो भयो। अस्पताल र अरु स्वास्थ्य संस्थामा लागेको भिडले पनि भाइरस फैलिएको हो। मानिसहरु एकैपटक प्रशिक्षण गरिहालौँ भनेजसरी अस्पताल पुगिरहेका थिए। यस्तो अवस्थामा अस्पतालमा काम गर्नेहरुलाई त सबैले सम्मान गर्नैपर्छ। उनीहरु नै अहिलका सच्चा नायक हुन्।
त्यो सँगै अरुको मनोबल माथि राखिराख्न मद्धत गर्ने सबैलाई सम्मान गर्नुपर्छ। घरको टपमा नै निस्किएर भए पनि गीत गाउन जान्नेले गीत सुनाएका छन्, ढोकामा बालबालिकालाई चित्र बनाउन सिकाएका छन्, कोही एक अर्कालाई राम्रा चुटकिला पठाइरहेका छन्, र कोही त बिनाकामका लेखहरु लेखेर पनि मानिसलाई पढ्ने समय दिइरहेका छन्!
तर ती कुनै पनि कुराले मनमा रमाइलो भने हुन दिएको छैन। कोरोना भाइरस (कोभिड१९) देखिने गरी आउँदैन तर त्यसको असर मज्जाले देखिइरहेको छ। त्यो पनि विश्वभर। त्यसैले त्यसलाई कम नआकौँ। त्यसले हामीमध्ये जो कोहीलाई असर गर्न सक्छ।
त्यसैले विश्व स्वास्थ्य संगठनको कुरा सुन्नुहोस्, डाक्टरहरुको कुरा सुन्नुहोस्, जानकारहरुको कुरा सुन्नुहोस्।
नियमित रुपमा हात धुनुहोस्, शारीरिक दुरी बनाइराख्नुहोस् र सबैभन्दा महत्वपूर्ण अति आवश्यक परे मात्रै बाहिर निस्कनुहोस्। चाहिने भन्दा बढी सामान नकिन्नुहोस्, सकारात्मक बस्नुहोस् र अरुलाई पनि सकारात्मक हुन मद्धत गर्नुहोस्।
अहिले म बस्ने नजिकै बाहिर एउटा ढोकामा बालबालिकाले रंग लगाएर त्यसैमाथि लेखेका छन्- सबै कुरा छिटै ठीक हुनेछ।
हप्तौँ घरभित्र बसिरहन सबैभन्दा गाह्रो त बालबालिकालाई नै हुन्छ होला। र त्यसभन्दा गाह्रो बालबालिका हुने आमाबाबुलाई। अनि जो आफ्नो परिवारसँगै छैनन् उनीहरुलाई। मैले एउटा जोडी चिनेको छु जो पसलमा सामान किन्न जाने एकै पार्छन्- पसलमा नै भए पनि एकैछिन एकअर्कालाई हेर्न पाए।
मानिसहरु कसरी घरमा नै बस्नुपर्छ भन्ने कुरामा विश्वस्त भइरहेका छन् त्यो महत्वपूर्ण छ। मानिसहरुसँग भेट्नु, सँगै बस्नु, नजिकै रहेर कुराकानी गर्नु जस्ता विषयको महत्व कति रहेछ भन्ने बुझ्ने समय पनि अहिले मिलेको छ। कसैको साथको महत्व ठूलो हुन्छ।
वास्तवमा यो परिस्थितिमा अरुले गरे जसरी मैले कुनै मद्धत गर्न नसके पनि वरपर कोही देखिँदा मुसुक्क मुस्कुराउँछु। ढोकामा चित्र बनाइरहेका केटाकेटीतर्फ हेरेर खुसीले हाँसिदिन्छु। अचम्म लाग्ला अब हाँस्नका लागि, खुसी हुनका लागि यहाँ योभन्दा ठूलो विषय अरु छैन।
साच्चै लकडाउनको अवस्थाको जीवन कस्तो हुन्छ त?
सजिलै बुझ्दा सबै कुरा बन्द छन्। तपाइँ पूरा दिन घरभित्र बिताउनुहुन्छ। साथी भेटौँ न त भन्ने तलतलको महत्व छैन। परिवारलाई पनि भेट्न जान पाउनुहुन्न। र हरेक दिन बेलुका ६ बजे सरकारले सुनाउँछ- कोरोनाको संक्रमित कति भए, कतिलाई निको भयो र कतिको ज्यान गयो।
त्यो सुनेपछि तपाइँ सोच्नुहुन्छ- संक्रमितको संख्या बढ्नुको साटो घटिदिए हुने नि।
लाग्छ- लकडाउन साच्चैको लकडाउन होस्, अवस्थामा सुधार आओस्, थोरै भए पनि।
हुन त इटाली विश्वस्तरीय स्वास्थ्य सेवा दिन सक्ने देश हो। तर अहिलेको अवस्थामा आवश्यक मास्ककै पनि अभाव देखिएको छ। र दुःख के लाग्छ भने अवस्थामा सुधार हुनुअघि अझ नाजुक अवस्था देखिँदै नै छ।
थाहा छैन यो अवस्थाको अन्त्य कहिले हुन्छ। कहिले पुराना दिनहरु फर्कने छन् त्यो पनि थाहा छैन। आफूलाई माया गर्नेहरु, आफूले माया गर्नेहरुलाई कहिले भेट्न पाइन्छ थाहा छैन। थाहा छैन आफै पनि रहिन्छ कि रहिँदैन!
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।