काठमाडौं–कोरोना संक्रमणका कारण विद्यालय बन्द भएर घरमा बसेका बालबालिकालाई लक्षित गरेर ‘स्टोरी इन नेपाल’ ले आज (मंगलबार) देखि फेसबुकमार्फत् कथा सुनाउने भएको छ।
दिउँसो तीन बजे फेसबुक लाइभमार्फत विभिन्न कथाकारमार्फत् बालबालिका लक्षित कथा सुनाउने तयारी गरेको हो ।
संस्थाले यस अगाडि विद्यालयमा गएर कथा सुनाउँदै आएको थियो। कोरोना संक्रमणसँगै विद्यालय बन्द भएपछि सामाजिक सञ्जालको उपयोग गर्न लागेको अभियानका संयोजक राजीवधर जोशीले नेपाललाइभलाई जानकारी दिए।
‘पहिले स्कुल–स्कुलमा गएर कथा सुनाउने गरेका थियौं,’ ’जोशीले भने, ‘कोरोना भाइरसका कारण बालबालिका घरमै बस्नुपरेपछि फेसबुक लाइभमार्फत कथा सुनाउने निणर्य गरेका हौँ ।’
जोशीका अनुसार बालबालिकालाई डिजिल प्लेटर्फममार्फत कथा सुनाउन श्रष्टाहरु पनि उत्साहित छन्। अहिलेसम्म कथा सुनाउन १८ गतेसम्मको समय बुक भइसक्यो।
कवि तथा सञ्चारकर्मी रुपेश श्रेष्ठले मंगलबार दिउँसो कथा सुनाउनेछन् । उनीपछि माया थापा, यशु श्रेष्ठ, शास्वत पराजुली, मोनिका प्रधान, कृष्णदीप सिग्देल, चैतलक्ष्मी श्रेष्ठ, ध्रुव घिमिरे र राजीवधर जोशीले कथा सुनाउने टुंगो लागेको छ। कथा नेपाली भाषामा हुने जोशीले जानकारी दिए।
कथाको लाइभ नेपाललाइभको फेसबुक पेजमा समेत हुनेछ ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।