काठमाडौं– भारतबाट नेपाल आउन लागेका नेपाली र सीमाका सुरक्षाकर्मीबीच विभिन्न सीमानाकामा झडपको अवस्था सिर्जना भएको छ। नेपाल लकडाउन भएपछि सुरक्षाकर्मीले भारतबाट आउनेहरुलाई रोकेको छ।
सीमामा आइपुगिसकेका नेपालीहरु अलपत्र परेपछि देश भित्रिने प्रयास गरिरहेका छन्। हुल बाँधेर नेपाल प्रवेश गर्न खोज्दा कतिपय नाकामा सुरक्षाकर्मी र नेपाल भित्रिन चाहनेहरुबीच झडप समेत भएको छ।
सुदूरपश्चिमको सीमानाका गौरीफन्डामा बिहानैदेखि झडपको अवस्था सिर्जना भएको स्थानीयहरुले जनाएका छन्। बलपूर्वक नेपाल प्रवेश गर्न खोज्दा प्रहरीले लाठीचार्ज समेत गर्नुपरेको एक प्रत्यक्षदर्शीले बताए।
कोरोनाको सन्त्रासबाट भारतले लकडाउन थालेपछि नेपालीहरु घर फर्किन थालेका हुन्। सयौंको संख्यामा नेपाली नागरिक सीमामा रोकिएका छन्।
मंगलबारदेखि नेपालमा समेत लकडाउन भएपछि उनीहरु अलपत्र परेका हुन्। भारतमा तीव्र गतिमा कोरोना भाइरस फैलिएपछि नेपालले सीमा समेत बन्द गरेको छ।
सिमा सिल पछि नेपाल प्रवेश गर्न खोज्ने ५ जना ५ घण्टा अलपत्र, ४ जना फिर्ता
सोमवार विहान १० वजेसम्म सप्तरीको वेल्ही (तिलाठि) नाका भएर १२ जना ब्यक्ति भारतवाट नेपाल प्रवेश गरे । १० वजेपछि नेपाल प्रवेश गरेका ५ जना भने ६ घण्टासम्म सीमामै अलपत्र परे ।
भारतको विभिन्न सहरवाट आएका उनीहरु ३ जना सप्तरी सदरमुकाम राजविराज र २ जना विष्णपुर गाउँपालिकाको वरहिविरपुरका निवासी हुन् । गाडिले सिमानाभन्दा ९ किलोमिटर दक्षिण कमलपुरमा छोडिदिएपछि हिडेर आउँदा ढिलो भएको उनीहरुको भनाई छ । तर, सरकारको निर्णय अनुसार १० बजेपछि नाकामा आएकाले प्रहरीले उनीहरुलाई नियन्त्रणमा राख्यो।
घर पठाउने वा क्वारेन्टाईनमा राख्ने भन्ने विषयमा निर्णय नहुँदा दिउँसो ४ वजेसम्म उनीहरु सिमामै अलपत्र परे । दिउँसो ४ वजे ४ जनाले भारत नै फर्कने इच्छा राखेपछि उतै पठाईएको र एक जनालाई तिलाठि कोईलाडि गाउँपालिकाको क्वारेन्टाईनमा राखिएको जिल्ला प्रशासन कार्यालय सप्तरीका प्रमुख जिल्ला अधिकारी सुनिल खनालले बताए ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।