विश्वव्यापी रूपमा बढिरहेको कोरोना भाइरसको संक्रमण रोक्न सरकारले मंगलबार बिहानबाट लागू हुने गरी एक साताका लागि अत्यावश्यक सेवामा संलग्न बाहेकलाई घरबाहिर निस्कन प्रतिबन्ध लगाउने निर्णय गरेको छ।
व्यक्तिबाट व्यक्तिमा सहजै संक्रमण हुने र प्रभावकारी उपचारको विधिसमेत पहिल्याउन नसकिएको अवस्थामा नागरिकलाई एक अर्काबाट अलग्याउनु अहिलेको बाध्यात्मक अवस्था हो।
चीनको वुहानबाट शुरु भएको संक्रमणले विश्वव्यापी महामारीको रूप लिँदै एक सय ८७ देशमा पुगिसकेको र नेपालमा सोमबार नयाँ संक्रमित फेला परेपछि संक्रमण फैलनबाट रोक्न लकडाउनको विकल्प थिएन। यही बाध्यात्मक अवस्थामा सरकार लकडाउनको निर्णयमा पुगेको देखिन्छ।
आफ्ना नागरिकलाई संक्रमणबाट सक्दो जोगाउन हरेक देशले हरसम्भव उपाय अपनाए पनि प्रत्येक दिन संक्रमितको संख्या बढिरहेको छ। विश्व हल्लाउने महाशक्ति राष्ट्रहरुसमेत कोरोना भाइरसको आक्रमण सामु निरीह देखिएका छन्। उनीहरूसमेत लकडाउनमा गइसकेको अवस्थामा नेपाल लकडाउनको चरणमा प्रवेश गर्नु स्वभाविकै हो।
विश्व स्वास्थ्य संगठनको तथ्यांकअनुसार सोमबार बेलुकासम्म कोरोना संक्रमितको संख्या २ लाख ९४ हजार १ सय १० पुगिसकेको छ भने संक्रमणबाट ज्यान गुमाउनेको संख्या १२ हजार ९ सय ९४ पुगिसकेको छ। अन्य अनुसन्धानमूलक संस्थाहरूको तथ्यांक हेर्ने हो भने संक्रमित हुने र मृत्यु हुनेको संख्या अझ बढी छ।
के विकसित देश, के अल्पविकसित देश सबैतिर कोरोनाकै कोहराम छ अहिले। चीनले संक्रमणलाई नियन्त्रणको दायरामा ल्याए पनि इटली, स्पेन, इरान जर्मनी, अमेरिका फ्रान्स, कोरिया, स्विजरल्यान्ड, बेलायतलगायतका देशलाई नै आच्छुआच्छु पारिरहेको छ।
संक्रमणपछिको उपचार प्रक्रिया जटिल रहेकाले अहिले सबै देशको पहिलो प्राथमिकता आफ्ना नागरिकलाई एक्ला–एक्लै राख्ने प्रयास नै हो।
प्रारम्भमै एक कोरोना संक्रमति फेला पारी सफल उपचार गरिसकेको र चीनको वुहानमा संक्रमण फैलिए लगत्तै नाकामा कडाई, अन्तराष्ट्रिय हवाई उड्यनमा रोक लगाएर केही समय सम्पर्कविच्छेद गरी लकडाउनको अवस्था आउनबाट जोगिन सक्ने अवस्था भने थियो।
तर अन्य केही विकसित देशझैं हाम्रो सरकारले पनि यसलाई चीनमा देखिएको समस्या चीनमै सकिन्छ झैं गरी आवश्यक सर्तकता अपनाउनुको साटो कोरोना संक्रमणमुक्त देश, जहाँ कहिल्यै यो आउँदैन झैं गरी अन्तराष्ट्रिय हवाई उड्डयनलाई प्रोत्साहित गर्दै पर्यटकलाई नेपालमा निम्तो दिने मुर्खतापूर्ण काम गर्नतिर लाग्यौं।
जोखिम कम गर्न केही समय विद्यालय बन्द गराउनै महाभारत भएकै हो। करिब ४ लाख विद्यार्थी भेला हुने एसइईको परीक्षा रद्द गर्न नागरिकले गरेको मागको सुनुवाई तत्काल नभएकै हो। भारतसँगको नाका समयमै बन्द गर्न सकेनौं। यी र यस्तै कमजोरीले हामी लकडाउनको चरणमा प्रवेश गर्न बाध्य भएका हौं।
बलियो संयन्त्र भएका देशले समेत कोरोना भाइरसको संक्रमण नियन्त्रण गर्न सकिरहेका छैनन्। एक मात्र राष्ट्रिय प्रयोगशाला रहेको, कमजोर स्वास्थ्य संयन्त्र अनी परिक्षणका सीमित साधन भएको हाम्रो देशका लागि कोरोनाको संक्रमण फैलन नदिन लकडाउनको दोस्रो विकल्प थिएन र छैन।
सोमबार बेलुकातिर एकाएक लकडाउनको निर्णय आउँदा केही असहज अवस्था देखिएको छ नै। तर यो असहजता कोरोनाको संक्रमण फैलिएको अवस्था भन्दा सामान्य नै हो।
सोमबार नै नेपालमा कोरोना भाइरसको नयाँ संक्रमित फेला परेको र उनको सम्पर्कमा आएकाहरूको पहिचान गर्ने चुनौती बढेको अवस्थामा फैलन सक्ने संक्रमणको जोखिम कम गर्न यो बाहेक अर्को विकल्प थिएन।
अकस्मात् आएको निर्णयले दैनिक जीवनयापन केही असहज हुनसक्छ। तर सोमबारको निर्णयको ध्येय आम नागरिकको जीवन जोगाउनु रहेकाले लकडाउनको इमान्दारितापूर्वक पालना गर्नु नै कोरोना भाइरसलाई लकडाउन गर्ने उत्तम विकल्प हो।
त्यसैले असहमती र असन्तुष्टिलाई थाँती राखेर ज्यानमारा भाइरसलाई पराजित गर्न समाजबाट केही समयका लागि सम्बन्धविच्छेद गरौं। अहिलेको महत्वपूर्ण पाटो कोरोनाविरुद्धको अभियान हो। अभियान सहभागी बनौं, आफू पनि जोगिऔं, देशलाई पनि जोगाऔं।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।