नुवाकोट– मिनीट्रकको ठक्करबाट महिलाको मृत्यु भएपछि घटनाको विरोधमा ओखरपौवाका स्थानीयवासीले जितपुर–ओखरपौवा सडकखण्डमा यातायात सञ्चालनमा अवरोध गरेका छन्।
पीडितलाई क्षतिपूर्ति र दोषी चालकलाई कारबाहीको माग गर्दै सवारी आवागमन बन्द गराएपछि उपत्यकाको फोहर विसर्जन गरिँदै आएको ओखरपौवासम्म गाडी आउन बन्द भएको छ।
गएराति बा५ख २५२३ नम्बरको मिनीट्रकले ककनी गाउँपालिका–१ महालक्ष्मी भन्ने स्थानमा स्थानीय ३० वर्षीया सीता बलामीलाई ठक्कर दिँदा उनको घटनास्थलमा नै मृत्यु भएको थियो। सोही घटनाको विरोधमा त्यस क्षेत्रका बासिन्दाले आज बिहानैदेखि प्रदर्शन गर्दै यातायात बन्द गराएपछि फोहर बोकेर काठमाडौँबाट आएका गाडी जितपुरमा नै रोकिएको जिल्ला प्रहरी प्रमुख वसन्त कुँवरले जानकारी दिए। सडक अवरुद्ध हुँदा फोहर बोकेका करीब १ सय गाडी रोकिएका छन्।
चालकले लापरबाही रुपमा गाडी चलाएर दुर्घटना गराएको र त्यस लगत्तै फरार भएको भन्दै स्थानीयले उक्त मिनीट्रकमा तोडफोड गरी क्षति पुर्याइदिएका छन्।
मृतकको शवलाई भने पोष्टमार्टमका लागि आज बिहान शिक्षण अस्पताल महाराजगञ्ज पठाइएको र अवरुद्ध सडक खुलाउने प्रयास भइरहेको प्रहरीले जनाएको छ। तनावपूर्ण रहेको उक्त क्षेत्रमा जिल्ला प्रहरी कार्यालयबाट प्रहरी नायब उपरीक्षक र काठमाडौँबाट प्रहरी निरीक्षकको नेतृत्वमा प्रहरी परिचालन गरिएको छ। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।