काठमाडौं– गुठीसम्बन्धी राय सुझाव पेश गर्न भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले समिति गठन गरेको छ। चैत ५ गतेको मन्त्रीस्तरीय निर्णयबाट प्रतिनिधिसभाका सांसद जीवनराम श्रेष्ठको संयोजकत्वमा समिति गठन गरिएको हो।
समितिका अन्य सदस्यहरुको नाम भने सार्वजनिक गरिएको छैन। समितिले काठमाडौं उपत्यकाभित्रका गुठीको धार्मिक, सांस्कृतिक विविधता, परम्परा तथा गुठी किसान मोहीको विषयमा आवश्यक छलफल गर्नेछ। सरोकारवाला, गुठीयार तथा जनप्रतिनिधिहरुसँग आवश्यक छलफल परामर्शपछि प्रस्तावित गुठी विधेयकमा समितिले राय सुझाव पेश गर्ने मन्त्रालयले जनाएको छ।
सरकारले संसदमा पेश गरेको गुठी विधेयकको विरोध भएपछि फिर्ता गरेको थियो। गुठीयारसँग परामर्श नगरी विधेयक ल्याइएको भन्दै व्यापक विरोध भएको थियो। सरोकार पक्षसँग आवश्यक छलफलपछि गुठीहरुको विशिष्टकृत अवस्थाको चित्रणसहित सुझाव दिने गरी समिति बनाइएको हो।
समितिको पहिलो बैठक बसेको मितिले एक महिनाभित्रमा मन्त्रालयलाई सुझाव पेश गर्न समय सीमा तोकिएको छ। राष्ट्रियसभाबाट सरकारले गुठी विधेयक फिर्ता लिएपछि गुठीसहित एकीकृत भूमिसम्बन्धी विधेयक ल्याउन मन्त्रालयले तयारी गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।