पोखरा– जिल्ला प्रहरी कार्यालय कास्कीद्वारा सुरु गरिएको ‘स्वीप अप्रेसन’अन्तर्गत ५२ हजार १५ रुपैयाँसहित ८ जना जुवाडेलाई पक्राउ गरिएको छ।
पोखरा लेखनाथ महानगरपालिकाका–१७ ड्यामसाइडस्थित भोगेन्द्र तामाङले सञ्चालन गरेको फ्लोरिडा गेष्ट हाउसबाट चार बुक ताससहित उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।
पक्राउ पर्नेमा गेष्ट हाउस सञ्चालक भोगेन्द्र तामाङसहित ड्यामसाइड बस्ने ४३ वर्षीय नरेश गुरुङ, ४३ वर्षीय राजकुमार गुरुङ, घारीपाटन बस्ने २९ वर्षीय राजकुमार श्रेष्ठ, हिमालीटोल बस्ने ३८ वर्षीय दीपक गुरुङ, ड्यामसाइडका ३९ वर्षीय अजय गौचन र पोखरा– ६ बैदामका ४० वर्षीय दीपक भट्टचन रहेका छन्।
कास्की जिल्लाको सुरक्षा स्थितिलाई मध्यनजर गरी प्रहरीले सुरु गरेको उक्त अभियानअन्तर्गत पोखरा तथा आसपासका इलाकामा व्यापकरुपमा परिचालन गरिएको प्रहरी टोलीले अवैध काठ ९ गोलीया र ५ थान मोटरसाइकलसहित ४६ जनालाई नियन्त्रणमा लिइ थप अनुसन्धान भइरहेको प्रहरी प्रवक्ता खड्गबहादुर खत्रीले जानकारी दिए।
उनका अनुसार कास्की प्रहरीले अपराध नियन्त्रण तथा रोकथाम, अवैध लागुऔषध कारोबार रोकथाम नियन्त्रण एवं गुण्डागर्दी नियन्त्रणमा शुन्य सहनशीलता र चोरी, तस्करी, कालो बजारी तथा अवैध मदिरा नियन्त्रणमा जोड दिँदै आएको छ। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।