काभ्रे- पाँचखाल नगरपालिकाले कोरोना संक्रमणबाट जोगिन विभिन्न निर्णय गरेको छ। पाँचखाल नगरपालिकाका प्रमुख महेश खरेलको संयोजकत्वमा बसेको कार्यपालिका सदस्य र विपद् व्यवस्थापन समितिको संयुक्त बैठकले कोरोना भाइरससँग लड्न विभिन्न कार्यक्रम तय गरेको छ।
बैठकले माइकिङ र गस्ती गरेर जनतालाई सुसूचित गर्दै बाहिर ननिस्किन अनुरोध गर्ने, सचेतनामूलक पर्चा वितरण गर्ने, भीडभाड हुने कार्य हुन नदिने, पलाञ्चोक भगवती मन्दिर लगायतका धार्मिक स्थलमा नित्य पूजा बाहेक भीडभाड रोक्न अन्य पूजाआजाका कार्यक्रम बन्द गर्ने निर्णय गरेको छ।
यस्तै कार्यपालिका बैठक र अन्य बैठकहरू भिडियो कन्फरेन्स, सामाजिक सञ्जाल वा अन्य विधिबाट सञ्चालन गर्ने, क्विक रेपिड रेस्पोन्स टोली गठन गर्ने, सो कार्यसँग सम्बन्धित खरिद कार्य गर्ने जिम्मेवारी नगरपालिकाको सार्वजनिक खरिद इकाईलाई जिम्मेवारी दिने निर्णय समेत बैठकले गरेको छ।
यसैगरी नगरस्तरीय र प्रत्येक वडामा गठन भएको वडास्तरीय कोरोना प्रतिकार्य समितिलाई क्रियाशील बनाउने, नगरपालिकाले नगरभित्र रहेका सबै स्वास्थ्य केन्द्र एवं स्वास्थ्य संस्थामा कार्यरत कुनै पनि कर्मचारीलाई अत्यावश्यक अवस्थाबाहेक बिदा नछोड्ने निर्णय समेत भएको छ।
पाँचखालमा ५ शय्याको आइसोलोसन वार्ड तत्काल व्यवस्था गर्ने र समाज कल्याण प्राथमिक विध्यालयमा क्वारेन्टाइन वार्ड बनाउने गरी तयारी गर्ने, एम्बुलेन्सलाई तयारी अवस्थामा राख्ने, विपद् व्यवस्थापन कोषमा उपयुक्त शीर्षकबाट रकमान्तर गरी ७ लाख थप गर्ने निर्णय भएको नगरपालिकाले जनाएको छ।
यस्तै चैत १० देखि २१ गतेसम्म पाँचखाल नगरपालिका क्षेत्रमा घरभित्रै बसी स्वःधोषित कर्फ्युमा जान सम्पूर्ण नगरबासीमा अनुरोध गर्ने निर्णय भएको छ।
बैठकले कोरोनासँग सम्बन्धित विपद् व्यवस्थापनमा आईपर्ने कार्य गर्न खटिने नगरपालिका, स्वास्थ्य संस्था, सुरक्षा निकाय र निजी क्षेत्रको फोहोर व्यवस्थापनका कर्मचारीहरुलाई प्रोत्साहन भत्ता, सुरक्षाका सामग्री, मास्क, स्यानिटाइजर, ग्लोब्स लगायतका सामग्री उपलब्ध गराउने निर्णय गरेको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।