भैरहवा– रुपन्देहीको तिलोत्तमालाई प्लास्टिक झोला निषेधित नगरपालिका बनाउन अभियान थालिने भएको छ।
शनिबार मणिग्राममा जनप्रतिनिधिहरु, विभिन्न व्यावसायिक संघ–संस्था, खानेपानी तथा सरसफाइ उपभोक्ता संस्था, वन, शिक्षण संस्था,सहकारी लगायतका प्रतिनिधिहरुको बैठकले आउँदो बैशाख १ गतेबाट अभियान थाल्ने निर्णय गरेको हो।
प्लास्टिक झोला निषेधित अभियान सञ्चालन समितिका संयोजक केशवराज न्यौपानेले बैशाख १ गते घोषणासभा गरी अभियान सञ्चालनको सन्देश दिइनुका साथै प्लास्टिक झोलाको विकल्पबारे सम्बद्ध सबैलाई जानकारी गराइने बताए। अभियानसँगै आवश्यक तयारी पूरा गरेर नगरलाई प्लास्टिक झोला र प्लास्टिक गिलास निषेधित क्षेत्र घोषणा गरिने जनाइएको छ।
तिलोत्तमा नगरपालिकाले प्लास्टिक झोलाको विकल्पमा कपडाको झोला प्रयोग गर्न, घरबाट बाहिर निस्किँदा सामान बोक्नका लागि वैकल्पिक झोला बोकेर लैजान, खुलारूपमा बेचिने चिनी, तरकारी लगायतका सामान खरिद–बिक्री गर्दा कपडा वा अल्लोका झोला तथा बट्टा प्रयोग गर्न उपभोक्ता र व्यापारीलाई आग्रह गरेको छ।
बैठकमा नगर प्रमुख वासुदेव घिमिरेले प्लास्टिक झोलाको प्रयोगबाट मानव स्वास्थ्य, वातावरण तथा सहरी सौन्दर्यमा प्रतिकूल प्रभाव परिरहेको बताउँदै नगरपालिकाले ती झोलाको प्रयोग, आयात, निर्यात, वितरण गर्न नपाउने व्यवस्था गर्न थालेको जानकारी गराए। यस्तै, प्रमुख प्रशासकीय अधिकृत कृष्णप्रसाद सापकोटाले तिलोत्तमालाई प्लास्टिक झोलामुक्त नगरपालिका बनाउने अभियान सुरु गर्न थालिएको बताउँदै यसमा सहयोग गर्न सबै नगरवासीलाई आग्रह गरे।
खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघ रुपन्देहीका अध्यक्ष ध्रुव धितालले प्लास्टिक झोलामुक्त नगर बनाउने अभियान निकै सकारात्मक रहेको बताउँदै यो अभियानलाई सबैले सघाउनुपर्ने उल्लेख गरे । तिलोत्तमा व्यापार संघका अध्यक्ष झविन्द्रप्रसाद कँडेल तथा अन्य व्यावासायिक क्षेत्रका प्रतिनिधिहरुले प्लास्टिक झोलामुक्त अभियानसँगै त्यसको विकल्पबारे नगरवासीलाई जानकारी दिइनुपर्नेमा जोड दिए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।