काठमाडौं- कोरोना संक्रमणबाट बच्न सचेतना कार्यक्रम र मास्क वितरणमा सहयोग गर्न सहकारी संस्थाहरुलाई भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले आग्रह गरेको छ। बिहीबार नेपाल सहकारी पत्रकार समाजसँगको भेटघाटमा मन्त्रालयका सचिव केदार न्यौपानेले आफ्ना सदस्यहरुलाई संक्रमणबाट जोगिन सहकारी संस्थाहरुले भूमिका खेल्नुपर्ने बताए।
यो संक्रमणबाट जोगिन देशभरका साढे ३५ हजार सहकारी संस्थाले आफ्ना सदस्यलाई चेतनामुलक सन्देश प्रवाह गर्ने र मास्कको उत्पादनदेखि सहज बिक्री वितरणमा सहयोग गर्न सचिव न्यौपानेले आग्रह गरेका हुन्। राष्ट्रिय सहकारी महासंघले सबै केन्द्रीय सहकारी संघ संस्थाहरु, राष्ट्रिय सहकारी बैंक, जिल्लास्तरिय सहकारी संघहरु, तथा प्रारम्भिक संस्थालाई रचनात्मक कार्य प्रदर्शन गर्न आह्वान गरेको छ।
महासंघका अध्यक्ष मीनराज कँडेलले सहकारी संस्थाले आफ्नो सदस्य तथा समुदायलाई सचेत गराउने, संक्रमण हुनबाट जोगाउने जस्ता विषयमा संवेदनशील हुनका लागि महासंघले आवद्ध सबै सहकारीलाई अपिल गरेको बताए। त्यस्तै महासंघले ६३औं राष्ट्रिय सहकारी दिवस पनि तामझामका साथ नमनाउन आग्रह गरेको छ।
चैत २० गते मनाइन लागिएको सहकारी दिवसमा सरसफाइ र चेतनामुलक कार्यक्रम मात्रै गर्न महासंघले आग्रह गरेको हो। सरकारले महासंघको यो अपिलमा नेपाल बचत तथा ऋण सहकारी संघ (नेफ्स्कुन)लगायत अन्य विषयगत संघहरुले पनि एक्यबद्धता जनाएका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।