काठमाडौं–त्रिभुवन विश्वविद्यालयले चैतमा तय गरिएका सबै परीक्षा स्थगन गरेको छ। बिहीबार बसेको त्रिवि कार्यकारी परिषदको आकस्मिक बैठकले शुक्रबारदेखि लागू हुने गरी सबै तहको परीक्षा स्थगन गर्ने निणर्य गरेको उपकुलपति प्राडा धर्मकान्त बाँस्कोटाले जानकारी दिए।
‘त्रिविबाट सञ्चालित सबै परीक्षा भोलि (शुक्रबार)देखि स्थगित गरिएको छ,’ बाँस्कोटाले भने,‘अर्काे सूचना नआउन्जेल परीक्षा हुँदैन।’
सरकारले चैत ६ गते नै सुरु हुने एसइईलगायत सबै परीक्षा र पठनपाठन बुधबार नै स्थगित गरेको थियो। त्रिविले बिहीबारको परीक्षा भने सुचारु गरेको छ।
सरकारले स्थगन गरे पनि त्रिविले बिहीबारको परीक्षा सुचारु गरेपछि प्राध्यापक डम्बर चेमजोङले फेसबुकमार्फत् विरोध जनाएका छन्। उनले लेखेका छन्, ‘सरकारको निर्णय भएपछि नेपाल देशभित्रका सबैखाले वि.देखि वि.वि. तहका सबै परीक्षा र पठनपाठन आजदेखि स्थगन भनेपछि सकियो। टियु सरकारी विश्वविद्यालय हो। यसको श्वासनली नै सरकारको मुठ्ठीमा छ। टियु ‘स्वायत्त’अन्य अर्थमा होला,यो महामारीबारे हैन।

ढिलो परीक्षा स्थगित गरेको भन्दै चौतर्फी विरोध
बुधबार पाँच बजेतिर उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल संयोजक रहेको कोरोना भाइरस रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिले भाइरस संक्रमणको जोखिम न्यूनीकरण गर्न महत्वपूर्ण १५ निर्णय गर्यो। जसमा विद्यालय बन्द गर्नेलगायतका निर्णय पनि थिए। तर एसइई परीक्षा भने जारी नै राख्ने उल्लेख थियो निर्णयमा।
निर्णयको १२ औं बुँदामा बाल विकास केन्द्र, आधारभूत तथा माध्यामिक विद्यालय र विश्वविद्यालयका पठनपाठन चैत मसान्तसम्म बन्द गरिने उल्लेख थियो। तर एसइई परीक्षा भने जारी नै राखिने उल्लेख थियो। नेकपाको सचिवालय बैठकले एसइई परीक्षा स्थगन गर्ने सुझाव दिएपछि साँझ ६ बजे नै एसइई स्थगित गरिएको थियो।
उपत्यकाबाहिर कतिपय ठाउँमा घण्टौँ हिडेर पुग्नुपर्ने ठाउँमा परीक्षार्थी पुगिसकेको अवस्थामा पहिले नै स्थगित गर्नुपर्ने परीक्षा ढिला गरिएको भन्दै विरोध भएको छ। पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले ‘उहिलेका श्री ३ ले अहिलेका श्री ३ झैं अघिल्लो दिन हैन केही दिन पहिल्यै परीक्षा रोके होलान्। यति कुरो केही दिन अघि गरेको भए विद्यार्थी र अभिभावक कति तनावमुक्त हुन्थे? कति खर्च बँच्थ्यो? यो काजी गुटको काम सधैं शिक्षा वा स्वास्थ्य मन्त्रालय लिने र गुट चलाउने हो! माके सिध्यायो!अब नेकपा सिध्याउँछ!’ उनले ट्वीटरमार्फतकटाक्ष गरेका छन्।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।