काठमाडौं–अख्तियार दुरुपयोग अनुसन्धान आयोग पोखराको टोलीले जिल्ला अदालत कास्कीका स्रेस्तेदार लोकनाथ पराजुलीलाई ३० हजार रुपैयाँ घुससहित बुधबार पक्राउ गरेको छ।
पोखरा ५ पर्स्याङको मदिरा पसलमा मुद्दाको पक्षवालासँग घुस लिइरहेको अवस्थामा बुधबार साँझ ८ बजे पराजुली पक्राउ परेका हुन्। अख्तियार पोखराका सूचना अधिकारी मेघनाथ रिजालका अनुसार संगठित अपराधसम्बन्धी मुद्दामा पक्राउ परेका व्यक्तिको गाडी छुटाइदिने प्रलोभनमा स्रेस्तेदार (उपसचिव) पराजुलीले ३० हजार रुपैयाँ घुस मागेका थिए।
अपराधको सिलसिलामा प्रयोग भएको आधारमा नियन्त्रणमा लिएको गाडी छुटाइदिने प्रलोभन पराजुलीले दिएका थिए। ५० हजार रुपैयाँ घुस माग्दा ३० हजारमा बार्गेनिङ गरी त्यतिमा कुरो टुंगिएपछि पैसा लिन पराजुली रेस्टुरेन्ट पुगेका थिए। स्रेस्तेदारको जिम्मेवारी अदालतमा प्रशासनिक प्रमुखको हुन्छ।
अघिल्लो सातामात्रै अदालतले उक्त मुद्दामा गाडीसमेत नियन्त्रणमा लिने आदेश गरेको थियो। । कास्कीबाट सरुवा भइसकेका उनी रमाना लिएर हिँड्ने बेलामा उनी घुस काण्डमा फसेका छन्। उनको सर्वोच्च अदालतको इजलास अधिकृतमा सरुवा भइसकेको थियो।
बागलुङ जिल्ला अदालतमा स्रेस्तेदार छँदा विवादमा मुछिएका पराजुलीकै कारण कुनै मुद्दाका पक्षले अदालतमै ढुंगामुढा गरेका थिए। अदालतमा घुसको चर्चा हुने गरे पनि उपसचिव पदकै कर्मचारीलाई अख्तियारले पक्राउ गरेको सम्भवत पहिलो हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।