रोल्पा–गाउँकै विद्यालयमा कक्षा ५ सम्म पढेका रोल्पा सुनीलस्मृति गाउँपालिका ८ अरेशका पावेल विक काठलाई कुदेर भाँडा वनाउने पेशामा लागे । आफ्ना दौंतरी विदेशका मरुभूमिमा पसिना बगाईरहँदा उनी भने बाबुबाजेको बिँडो थाम्दै काठको भाँडा बनाउने पेशामा आफ्नै गाउँमा रमाईरहेका छन्।
पावेलसँगै काठ कुदेर भाँडा बनाउने पेशामा अन्य ४ युवा पनि संलग्न छन्। रोल्पा सुनीलस्मृति गाउँपालिकाको धनमुडा र लुंग्री गाउँपालिका १ पाङको आलिवाङमा २ ठाउँ पानीबाट चल्ने मेसिन जडान गरेर पुख्र्यौैली पेशा र प्रविधिलाई निरन्तरता दिईरहेका छन् उनीहरुले। पछिल्लो प्रविधिले परम्परागत पेशा व्यवसायलाई लोपोन्मुख अवस्थामा पुर्याईरहेका बेला पावेलको समूहले भने यसै पेशालाई आधुनिकीकरण गर्ने सोचमा निरन्तर खटिइरहेको छ।
‘बाबुबाजे काठको ठेका, हर्पेमात्रै बनाउनु हुन्थ्यो, हामी भने बजारको मागलाई मध्यनजर गर्दै गिलास, गमला, प्लेट, थाली, कचौरा तथा अन्य सजावटको सामान पनि तयार गरिरहेका छौं,’ पावेलले भने।
उनले काम गर्नका लागि नयाँ प्रविधि तथा सीप नभएकाले बाबुबाजेकै प्रविधि प्रयोग गरेर काम गर्न बाध्य भएको बताए। ‘सामान उत्पादन गर्ने तालिमको अवसर पनि छैन, चित्र हेर्दै आफैं नक्सा कोरेर सामान तयार गर्छौं,’ पावेलले भने।
पछिल्लो समय पेशा संकटमा पर्दै जान थालेको उनीहरुको गुनासो छ। काठलाई कुदेर बनाईने ठेकीलगायत दही, दुध, घिउ, नौनी राख्ने भाडा बनाउने उक्त पेशा संकटमा परेको हो। गाउँमै सानोतिनो आम्दानी पनि हुने र पुख्र्यौली बिडो पनि थामिने भन्दै यहाँका युवाले यो पेशा अँगालेको अर्का व्यवसायी केशर विकले बताए।
पेशामा आएको संकटसँगै जीविका चलाउन निकै गाह्रो भएको विकले बताए। आधुनिक प्रविधिलाई प्रयोगमा नल्याउँदासम्म काम गर्न पनि असजिलो र ढिलाइ भएको उनीहरुको भनाइ छ।
अरेशका यी युवाहरुले १० वर्षदेखि यो पेशालाई निरन्तरता दिईरहेका छन् । यही पेशाबाट उनीहरुले घर खर्च टार्दै आएका छन्। केही वर्ष अघिसम्म यो पेशामा लाग्नेहरुको संख्या धेरै भए पनि अहिले धेरैले पेशा परिवर्तन गरिसकेका छन्। पेशा परिवर्तन गरेकामध्ये अधिकांश वैदेशिक रोजगारीमा गएका छन् ।
काठको भाँडा दही, दूध,घिउ राख्न र दहि मथ्नका लागि अव्वल मानिन्छ । गिठा,गुराँसजस्ता काठवाट पहाडमा यी काठ प्रशस्त पाईने भएकाले भाडा बनाउने कच्चा पदार्थको समस्या छैन। पहिले गाउँ नजिक पाईन्थे भने अहिले अलि टाढाबाट ढुवानी गर्नुपर्ने भएकाले केही असहजता भए पनि कच्चा पदार्थ नै नपाईने समस्या भने नरहेको पावेलले बताए।
एक माना अट्ने भाँडाको मूल्य ७ सय रुपैयाँ तोकिएको छ। सहरमा पाईने प्लाष्टिक र माटाका भाडाले समेत काठको भाँडालाई विस्थापित गरेका कारण काठको भाडा प्रयोगकर्ताको संख्या घट्दै जान थालेको हो। ‘पहिले बजारतिर दुध, दही, घिउ राख्ने भाडा नपाईने भएकाले यसको माग पनि वढी थियो, अहिले भने बजारमा आएका प्लाष्टिक र माटाको भाँडाका कारण पहिलाजस्तो बिक्री हुँदैन,’ केशरले भने ।
काठको भाँडाले रोल्पाको पहिचानसमेत बनाएको छ। पछिल्लो पटक आफूहरुले बनाएको सजावटका भाडा स्वदेशसहित न्यूजिल्याण्डसम्म पुगेको पावेलको भनाइ छ। छिमेकी जिल्ला प्यूठान, दाङ,वाग्लुङमा समेत बिक्री हँुदै आएको छ ।
प्रचारप्रसार नभएकाले व्यवसाय फस्टाउन नसकेको बुझाइ छ पावेलकोे। आधुनिक प्रविधि भए काम गर्न सजिलो र छिटो हुने उल्लेख गर्दै उनले भने, ‘स्थानीय सरकारले व्यवसाय प्रवद्र्धन गरि रोजगारीका अवसर सिर्जना गर्न सहयोग गर्न तत्परता देखाउनु पर्छ।’ विगतमा रोल्पाको पाङ, गुम्चाल, सिर्प, अरेश लगायतका स्थानमा यो पेशा गरिएको भए पनि पछिल्ला दिनमा अरेशका केही युवामा मात्रै खुम्चिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।