बुटवल- बुद्ध जन्मस्थल लुम्बिनीमा आगामी बैसाख १५ र १६ गते हुने अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन र १७ गतेको बुद्ध जयन्ती मूल समारोहलाई भव्य बनाउने लुम्बिनी विकास कोषले निर्णय गरेको छ।
कोषको शनिबार लुम्बिनीमा बसेको बैठकले दुवै कार्यक्रमको तयारीका लागि बनेका उपसमितिलाई पूर्णता दिएको छ। बैठकले बुद्ध जयन्तीमा प्रदान गर्ने घोषणा गरिएको तर अवरुद्ध जस्तै रहेको अन्तर्राष्ट्रिय शान्ति पुरस्कारलाई यो वर्ष अगाडि बढाउने निर्णय गरेको कोषका निमित्त सदस्य–सचिव सरोज भट्टराईले बताए।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रविन्द्र अधिकारीको अध्यक्षतामा बसेको बैठकले दुवै कार्यक्रमलाई ऐतिहासिक बनाउने गरी तयारी गर्न उपसमितिहरुलाई निर्देशन दिएको छ।
यस्तै, बुद्ध जन्मस्थल लुम्बिनीमा आगामी बैसाख १५ र १६ गते आयोजना हुने अन्तर्राष्ट्रिय बौद्ध सम्मेलनमा २३ वटा मुलुकले सहभागिता जनाउने भएका छन्। तीमध्ये १३ मुलुकका धार्मिक तथा संस्कृति मन्त्रीहरुले नै सम्मेलनमा सहभागिता जनाउने कार्यक्रम रहेको कोषले जनाएको छ।
अन्य राष्ट्रका तर्फबाट बौद्ध संस्थाका प्रतिनिधिले सहभागिता जनाउने कोषका निमित्त सदस्य–सचिव सरोज भट्टराईले जानकारी दिए। हालसम्म भारत, जापान, फ्रान्स, बेलायत, पोल्याण्ड, मलेसिया, जर्मन र श्रीलंकालगायतका राष्ट्रले सहभागिता जनाउने पक्का भएको समेत उनले जानकारी दिए।
बैसाख १५ र १६ गते आयोजना हुने बौद्ध सम्मेलन र १७ गतेको बुद्ध जयन्ती मूल समारोहको तयारीमा जुटेको लुम्बिनी विकास कोषले दुवै कार्यक्रमको प्रारम्भिक तयारी पूरा भएको जनाएको छ।
सम्मेलनमा ६ सय बौद्ध प्रतिनिधि सहभागी हुनेछन्। सम्मेलनको उद्घाटनका लागि बैसाख १५ गते प्रधानमन्त्री केपी शर्मा ओली लुम्बिनी आउने सदस्य–सचिव भट्टराईले जानकारी दिए। त्यस्तै, बैसाख १७ गते हुने मूल समारोहको प्रमुख अतिथिका रुपमा राष्ट्रपति विद्यादेवी भण्डारी सहभागी हुने कार्यक्रम छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।