काठमाडौं- बुबा, जसले सन्तानको जितका लागि सबै कुरा हारिदिन्छन्। ललितपुरको महांकाल गाउँपालिका ४ का प्रेमप्रसाद दुलालले पनि आफ्नी ५ वर्षीया छोरीको जीवनका लागि सबै कुरासँग हारिदिए।
छोरीकै लागि पसिनासँग पैसा साटेर बिहान–बेलुका छाक टार्ने बाध्यतालाई नै उनले थाँति राखिदिए।
प्रेमप्रसादको छाक टार्ने आधार पनि आम नेपालीको जस्तै थियो–खाडी पुगेर पसिनासँग पैसा साट्ने।
परिवार र छोराछोरीको सुन्दर भविष्यको कल्पना गर्दै संयुक्त अरब इमिरेट्स (युएई) पुगेका उनी स्थित डेल्टा प्रिन्टिङ प्रेसमा अप्रेटरको काम गर्थे। कमाई ठीकै थियो। पारिश्रमिक समयमा दिँदैनथ्यो, तर के गर्नु? नेपाल फर्किए पनि गर्जो टार्ने कुनै विकल्प थिएन। फेरि परदेश जानैपथ्र्यो। देशमा बेरोजगार हुँदाको दुःख सम्झेर काम गरिरहेका थिए। टुकुटुकु हिँडेर विद्यालय जान थालेकी छोरीको भविष्यको जिम्मेवारी पनि त थियो उनीमाथि।
कम्पनीले हरेक वर्ष घर आउन बिदा दिन्थ्यो। यो वर्ष पनि दुई महिनाको बिदामा प्रेमप्रसाद फर्किए। बिदा सकिँदै थियो। केही दिनमै प्रेमप्रसाद पुनः युएई उड्दै थिए। कुरा २०७६ असारको हो। छोरीको शरीरभरि काला–काला धब्बाहरु बढ्न थाले। शरीर पहेँलो हुँदै गयो।
वरिपरिका देख्नेहरुले अड्कल काट्न थाले, ‘छोरीलाई जण्डिस भएजस्तो छ। अस्पताल लैजानु।’
उनी आफूले हेर्दा पनि छोरीलाई जण्डिस भएजस्तै लागेको थियो।
‘जण्डिस हुँदा पनि शरीर पहेँलो हुन्छ भन्छन्, मलाई पनि त्यस्तै शंका लाग्यो त्यसपछि विदेश जानु अगावै पाटन अस्पतालमा पुर्याएँ,’ प्रेमप्रसादको मलिन स्वर सुनिन्छ।
अस्पतालमा चेकजाँच भयो। भर्ना गरेर ७ दिनसम्म छोरीलाई अस्पतालमै राखियो। जण्डिस भएको पुष्टिसहितको रिपोर्ट कुरिरहेका प्रेमप्रसादको हातमा अस्पतालले सोच्दै नसोचेको रिपोर्ट थमाइदियो।
रिपोर्टमा थियो ब्लड क्यान्सर (बि सेल)।
यो सुन्नेबित्तिकै प्रेमप्रसाद छाँगाबाट खसेजस्तै भए। पछि उपचार गरे सञ्चो हुने सम्भावना ७० प्रतिशत रहेको सुनेपछि उनमा केही आशा पलायो।
उनले बिरामी छोरी र गर्भवती श्रीमतीलाई छाडेर परदेश जाने हिम्मत गरेनन्। यतै रोकिए।
७ दिनपछि पाटन अस्पतालले छोरीलाई भक्तपुर क्यान्सर अस्पताल रेफर गरिदियो।
हात समातेर विद्यालय पुर्याउने बेलामा प्रेमप्रसादले छोरीलाई अस्पताल पुर्याउन थाले। दिनचर्या नै अस्पताल धाएर बित्न थाल्यो।
हुन त युएईस्थित साहुले उनलाई ७ महिनाको पारिश्रमिक दिन बाँकी थियो। बिदा सकेर कम्पनीमा पुगेपछि दिन्छु भनेको थियो तर छोरीको मायामा उनले त्यो बाँकी रकम माया मारिदिए।
‘कम्पनीले त्यो रकम पठाइदिएको भए छोरीको उपचारका लागि थोरै भए पनि भरथेग हुन्थ्यो तर पठाएन। बरु आएर एक महिना भए पनि काम गर दिन्छु भन्छ। बिरामी छोरी छाडेर कसरी जानु, पहिले त तलब समयमा दिँदैन थियो। फेरि जाँदा के देला ?’ प्रेमप्रसादलाई साहुको कुराको विश्वास नै लागेन।
छोरीलाई बोकेर अस्पताल र घर ओहोरदोहोर गर्न थाले।
भक्तपुर क्यान्सर अस्पतामा उपचार गर्न केही वर्ष खाडीमा पसिनासँग साटेको पैसाले थेगेन। लाखौँ रकम सकियो तर छोरीको उपचार सकिएन।
प्रेमप्रसाद भन्छन्, ‘उपचार खर्च नै महङ्गो। किमोथेरापी नै सकिएको छैन, २३ लाख सकिइसक्यो।’
भक्तपुर क्यान्सर अस्पतालको उपचार खर्च धान्न नसक्ने भएपछि उनले केही राहत मिल्ने अस्पताल खोज्न थाले। स्वास्थ्य कार्यालय ललितपुरको सिफारिसमा केही राहत मिल्ने गरी छोरीको उपचारका लागि मिनभवनस्थित सिभिल अस्पतालमा रेफर गरियो।
‘अहिले सञ्चो भएजस्तो देखिन्छ एकैछिनमा बिरामी पर्छिन्, कहिलेकाँही त १५ दिन जति अस्पतालमै बस्नुपर्छ श्रीमती सुत्केरी छन् के गर्ने ?’ अस्पतालमा भेटिएका प्रेमप्रसाद आफैँसँग प्रश्न गर्छन्।
‘अघिल्लो पटक ३ वर्ष र दुई वर्षको ग्यापमा फेरि दोस्रो पटक ३ वर्ष गरेर ६ वर्ष खाडीमा पसिना बगाएँ। यो पैसा धेरै त घर खर्चमै ठिक्क भयो। बाँकी बचेको थोरै रकमले छोरीको उपचारको लागि पनि पुगेन।’
घरमा भएकी दुई महिनाकी सुत्केरी श्रीमतीबाट सहयोगको आस गर्ने कुरै भएन। प्रेमप्रसादको गोजी पनि रित्तियो। त्यसपछि केही सहयोगी मनहरुबीच हात फैलाए।
थोरै सहयोग रकम त जुट्यो तर त्यति रकमले कहाँ पुग्नु ?
‘दिन दिनैजसो छोरी बिरामी हुँदा झण्डै ३० हजार जति सकिन्छ। पैसा कहाँबाट कसरी जुटाउने?’ पैसाकै चिन्ताले उनी छटपटाउँछन्।
मंगलबार छोरीको फलोअपका लागि सिभिल अस्पताल पुगेका प्रेमप्रसाद पार्किङ वरिपरि छोरीसँगै डुलिरहेका थिए।
छोरीको हात समातेर उनी कहिले बाहिर त कहिले भित्र गरिरहेका थिए।
‘बाबा माथि जाउँ न ?’ छोरी बुबालाई डाक्टरसम्म जान भनिरहेकी थिइन्।
हुन्छ। १० बज्छ अनि जाने ल’ प्रेमप्रसादले छोरीलाई भुलाइरहेका थिए।
बिहानको ९ बजेको थियो।
चैतको घाम बिहानै भए पनि चरक्क पोल्ने गरी चर्किएको थियो। पार्किङको छेउमा बस्नका लागि बेन्च राखिएको थियो। प्रेमप्रसाद छोरीलाई काखमा लिएर थचक्क बसे।
उनका पछाडि वसन्तका राता फूलहरु ढकमक्क फूलेका थिए। तर प्रेमप्रसाद रंगहीन थिए। तै पनि छोरीका लागि आशा मरेको थिएन।
‘यो रोग धेरैलाई निको भएको छ, उपचार पाए मेरी छोरीलाई पनि सञ्चो हुन्थ्यो। केही सहयोगी मनहरुले सहयोग गरिदिनु भयो भने त मेरी छोरी पनि छिट्टै सञ्चो हुनेछिन्’ प्रेमप्रसादले छोरीलाई सुम्सुम्याए।
प्रेमप्रसादले छोरी प्रेरणा दुलालको उपचारमा सहयोग गर्न चाहने सहयोगी मनहरुका लागि ग्लोबल आइएमई बैंकको खाता नम्बर ०७०७०१०००८४७९ उपलब्ध गराएका छन्। सहयोग गर्न चाहनेहरुले प्रेमप्रसाद दुलालको ९८४८८५९५७१ फोन नम्बरमा समेत सम्पर्क गर्न सक्नुहुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।