काठमाडौं – स्वर्णलक्ष्मी सहकारी ठगी मुद्दा लागेकी सांसद माया राईविरूद्ध ३७ लाख ३५ हजार बिगाेसहित पुरक अभियाेजनमार्फत मुद्दा दायर भएपछि अदालतमा उपस्थित भएकी छन्।
जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंले आज जिल्ला अदालतमा उनलाई पेश गरेको थियो। समय अभावका कारण थुनछेक बहस हुन सकेन। उनलाई फेरि प्रहरी हिरासतमै राखेर भोलि अदालत पेश गरिने भएको छ।
राईविरूद्ध पुरक अभियोजनमा ३७ लाख ३५ हजार ८४३ रुपैयाँ बिगो मागदाबी गरिएको छ। उनी स्वर्णलक्ष्मी सहकारीको उपाध्यक्ष थिइन्।
स्वर्णलक्ष्मी सहकारीको कार्यसमिति सदस्य रहँदा ८९ लाख ३४ हजार र सचिव पदमा रहँदा १ करोड ४२ लाख १० हजार गरी कुल २ करोड ४० लाख रुपैयाँ रकम हिनामिना भएको अनुसन्धान प्रतिवेदनमा देखिएको छ। यद्यपि, उक्त हिनामिना संगठिन कसुरमा भएकाले राईविरुद्ध ३७ लाख २५ हजारको बिगोदाबीसहित अन्य २० प्रतिवादीविरुद्ध सोही बमोजिम बिगो मागदाबी गरिएको छ।
जिल्ला सरकारी वकिलको कार्यालयले गितेन्द्रबाबु राई (जिबी), देबेन्द्रबाबु राई, कुमार रम्तेल, इरान लामा, कविता तामाङ, हेमन्त अधिकारी, रबिना रिमाल, दिपक लामा, सविना आलेमगर, भक्तबहादुर भोलन, प्रदिप लामा, थशविता लामा, गणेशराज श्रेष्ठ, सुनिता नेवा, शान्तिकुमारी सुवेदी, रोमन काफ्ले, कमला लामा, नविन अछामी, कल्पनाकुमारी श्रेष्ठ र राजु बराललाई ठगी तथा संगठित मुद्दामा प्रतिवादी बनाइएको छ।
राईसहित २१ जनाविरुद्ध ६६९ बचतकर्ताले ८७ थान किटानी जाहेरी दिएका छन्।राईलाई वैशाख १३ गते राति कपनस्थित निवासबाटै प्रहरीले पक्राउ गरेको हो। स्वर्णलक्ष्मी सहकारी उनी मुद्दामा फरार रहँदै आएकी थिइन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।