काठमाडौं– आइसिसी महिला टी–२० विश्वकप एसिया छनोटमा नेपाल हङकङसँग पराजित भएको छ।
मंगलबार सम्पन्न खेलमा नेपाल सात विकेटले पराजित भएको हो । जितसँगै हङकङ समूह सी को शीर्ष स्थानमा उक्लिएको छ।
हङकङको तीन खेलबाट चार अंक छ । नेपालको भने समान खेलबाट तीन अंक छ । नेपालले दिएको ३० रनको लक्ष्य हङकङले तीन बल बाँकी रहँदा तीन विकेट गुमाएर पूरा गरेको हो ।
हङकङका शान्जिन शहजादले अविजित रहँदै सर्वाधिक १५ रन बनाइन्। १२ बल खेलेकी उनले एक छक्का प्रहार गरिन् ।
मारिको हिल ११ रनमा आउट भइन्। नेपालकी कविता कुँवरले दुई विकेट लिइन्। १.३ ओभर बलिङ गरेकी उनले पाँच रन खर्चिइन् ।
त्यसअघि टस हारेर पहिला ब्याटिङ थालेको नेपालले निर्धारित पाँच ओभरमा तीन विकेट गुमाउँदै २९ रन बनायो। वर्षाका कारण खेल पाँच ओभरमा खेलाइएको थियो ।
नेपालकी सम्झना खड्काले सर्वाधिक १० रन बनाइन्। सात बल खेलेकी उनले एक चौका प्रहार गरिन् ।
कप्तान इन्दु बर्माले अविजित रहेर ९ रन बनाइन्। पूजा महतो तीन, कविता कुँवर दुई रनमा आउट हुँदा रुविना क्षेत्री बेलबासे चार रनमा अविजित रहिन् ।
हङकङकी मेई बाई सियुले तीन विकेट लिइन्। दुई ओभर बलिङ गरेकी उनले ११ रन खर्चिइन् ।
सुपर थ्रीमा पुग्नका लागि अब नेपाल, बहराइन र हङकङ तीनैले एक/एक खेल खेल्न बाँकी छ । नेपालले बहराइनलाई हराउँदै हङकङ बहराइनसँग पराजित भएमा मात्र नेपाल सुपर थ्रीमा पुग्ने छ ।
सुपर थ्रीमा रहेका टिमबीच हुने पछाडीका खेलबाट शीर्ष २ मा रहने टिम विश्वकपका लागि छनोट हुनेछन् ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।