दाङ- राप्ती उपक्षेत्रीय अस्पतालबाट स्तरोन्नती हुँदै साविक राप्तीकै सबैभन्दा ठूलो दाङको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एम्बुलेन्स छैन। एम्बुलेन्स बिग्रिएर थन्किएको १० वर्षभन्दा बढी भयो। न मर्मत भएको छ, न नयाँ एम्बुलेन्स खरिद नै गरिएको छ।
पटक पटक विवादमा पर्ने प्रतिष्ठानमा अहिले बिरामीको चाप बढ्न थालेको छ, तर बिरामीको सुविधाका लागि प्रतिष्ठानसँग आफ्नै एम्बुलेन्स छैन।
राप्ती उपक्षेत्रीय अस्पताललाई २०७४ असोज २९ गते प्रतिष्ठानमा रुपान्तरण गरिएको थियो। तत्कालीन राप्ती उपक्षेत्रीय अस्पताल हुँदा एम्बुलेन्स बिग्रिएको थियो। एम्बुलेन्स नहुँदा बिरामीलाई समस्या हुने गरेको छ।
‘बाहिरका एम्बुलेन्सभन्दा अस्पतालकै एम्बुलेन्स सस्तो पर्थ्यो होला, यति ठूलो अस्पताल भइसकेपछि एउटा एम्बुलेन्स त सञ्चालन गर्नुपर्ने हो।’ घोराही उपमहानगरपालिका-६ सौडियार निवासी देवका विकले भनिन्।
तुलसीपुरको राप्ती प्रादेशिक अस्पतालमा पनि एम्बुलेन्स छैन। एम्बुलेन्स बिग्रिएको लामो समयसम्म पनि एम्बुलेन्स खरिद गर्ने कुनै तयारी थालिएको छैन।
राप्ती प्रादेशिक अस्पतालले २०७१ सालदेखि नै एम्बुलेन्सबिनाको सेवा प्रदान गर्दै आएको छ। त्यतिबेला नै बिग्रिएको एम्बुलेन्स अहिलेसम्म पनि मर्मत गर्न नसकेको तुलसीपुर अस्पतालका डा. प्रताप पोखरेलले बताए। मर्मत गर्नका लागि बजेट नभएकाले मर्मत गर्न र एम्बुलेन्स खरिद गर्न नसकेको उनले बताए।
अस्पतालमा बिग्रिएका एम्बुलेन्सहरू छन्‚ जुन धेरै पुराना एम्बुलेन्स हुन्। कसैलाई ठेक्कामा दिएर बनाउन लगाउँदा झनै धेरै खर्च हुने अस्पतालको भनाइ छ। तर नयाँ खरिद गर्नका लागि पनि कुनै प्रक्रिया चलाइएको छैन। यसक्षेत्रकै सबैभन्दा ठूला र सुविधासम्पन्न भनिने यी अस्पतालको एम्बुलेन्स नहुँदा निजी क्षेत्रले सञ्चालनमा ल्याएका एम्बुलेन्स गुहार्नुपर्ने बिरामीको बाध्यता छ।
‘प्रतिष्ठान बन्नुभन्दा पहिले नै उपक्षेत्रीय अस्पतालले चलाउँदै आएको एम्बुलेन्स बिग्रिएको थियो,’ राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिष्ट्रार रामप्रसाद प्याकुरेलले भने, ‘मर्मत गर्दा पनि धेरै खर्च लाग्ने देखिन्छ, नयाँ किन्नको लागि प्रतिष्ठानले प्रक्रिया चलाएको छैन, तर बजेटको सुनिश्चित भयो भने हामीले काम गछौं।’ उनका अनुसार एम्बुलेन्सका लागि दाताको सहयोगको अपेक्षा प्रतिष्ठानले गरेको जनाइएको छ।
दाङमा दुई दर्जनभन्दा बढी निजी एम्बुलेन्सहरु चल्छन्। तिनै एम्बुलेन्सको भरमा जिल्लाबासीहरुले स्वास्थ्य सुविधा लिँदै आएका छन्। तर रातको समयमा एम्बुलेन्स प्रयोग गर्न समस्या हुने गरेको सेवाग्राहीहरु बताउछन्।
‘रातको समयमा कसको एम्बुलेन्स प्रयोग गर्ने भन्ने अन्यौल हुन्छ, ठूला अस्पतालकै एम्बुलेन्स भयो भने सबैलाई ढुक्क हुने थियो।’ देवका विकले बताइन्। ग्रामिण क्षेत्रमा एम्बुलेन्सभन्दा पनि अटो‚ रिक्साहरुकै भर पर्नुपर्ने बाध्यता छ। निजी एम्बुलेन्स नै प्रयोग गरेपनि दूर दराजका नागरिकहरुले महँगो शुल्क तिरेर प्रतिष्ठानसम्म आउने गरेका छन्।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।