काठमाडौं- १३औं दक्षिण एसियाली खेलकुद (साग) आयोजनामा धेरै चर्चामा थियो- ‘हिटिङ स्विमिङ पुल।’ दशरथ रंगशालामा सागको उदघाटन भइसक्दा पनि उक्त पौडी पोखरी निर्माणको काम सकिएको थिएन। हतारमा जसोतसो प्रतियोगिता सकियो। खेलाडीहरु त्यही पोखरीमा पौडिए।
बाह्रै महिना खेलाडीले तातो पानीमा अभ्यास गर्न पाउने पौडी पोखरीको निर्माणले नेपाली खेलाडीलाई निकै फाइदा पुग्ने बताइएको थियो। हुन पनि जाडोको समयमा अभ्यास गर्नुपर्दा कठीन समस्या भोगिरहेका खेलाडीका लागि त्यो खुसीकै कुरा थियो। तर साग सकिएपछि पौडी पोखरीमा खेलाडी पुगेका छैनन्।
अहिले चारैतर्फबाट बन्द रहेको भए पनि पौडी पोखरीको पानी फोहोर देखिन्छ। त्यहाँ खेलाडीका लागि बनाइएका कोठाहरु भने अहिले रक्सी र तासको अड्डा बनेको जस्तो देखिन्छ। बियर र रक्सीका बोतल लडाइएका छन्, तास छरपस्ट छरिएका छन्।
त्यो त्यही स्थान हो जहाँ गएको मंसिर १९ गते बिहीबार सागको स्विमिङमा गौरिकाले नेपालका लागि ऐतिहासिक स्वर्ण पदक जितेकी थिइन्। दुई सय मिटर फ्रि–स्टाइलमा स्वर्ण जितेकी गौरिकाले भनेकी थिइन्, ‘यो स्विमिङ पुल एकदमै राम्रो छ। मैले खेलेको अन्य ठाउँको भन्दा सजिलो लाग्यो।’
हुन पनि गौरिकाले त्यहि हिटिङ स्विमिङ पुलबाट इतिहास रचिन्। एकै साग खेलकुदमा चार स्वर्ण जित्ने दुर्लभ कीर्तिमान राखिन्, जुन तोडिन सहज छैन। तर त्यहि इतिहास दिलाएको स्विमिङ पुलको यतिबेलाको कथा अलिक तीतो बनिदिएको छ।
हुन पनि पौडी पोखरीको भित्रि भाग हतारमै भए पनि चिटिक्क पारिएको थियो। सानो स्थानमा भए पनि खेलाडीको लागि असहज महशुस हुन दिनबाट सरकारले निकै कसरत नै गरेको हो। समयमा काम नसके पनि अन्तिम समयकै राम्रो कामको भने तारिफ भएकै थियो। प्रतियोगिता हुँदा दर्शकलाई सकस पर्ने गरी निर्माण गरिएको भए पनि खेलाडीको तारिफले पौडी पोखरीको चमक झनै बढेको थियो।
तर यो करिब चार महिनाको अवधिमा पोखरी पहिलेको जस्तै राख्न्न किन सकिएन त? साग खेलकुदका लागि हतारमा निर्माण गरिएको पौडी पोखरीप्रति कसैको ध्यान गएको छैन। पौडी पोखरीको पानी गनाउने अवस्थामा छ। फोहोरले भरिएका छन्।
सञ्चालनमा आइसकेको पौडी पोखरी किन भयो भद्रगोल? राष्ट्रिय खेलकुद परिषद् र नेपाल पौडी संघलाई काम सकाएपछि हाइसञ्चो भनेजस्तो भएको हो त?
यहि प्रश्नको जवाफ नेपाल पौडी संघका अध्यक्ष अशोकरत्न बज्राचार्य सटिक तरिकाले दिँदै भन्छन्, ‘कुनै समस्या छैन। भएको पानी फ्यालेर नयाँ पानी हाल्नु त हो।’
रक्सी र तासको अड्डा!
साग खेलकुदको अन्य प्रतियोगिता सुरु भइसक्दा पनि हिटिङ पौडी पोखरीको भित्तामा कोही टायल हालिरहेका थिए, कोही प्लास्टरमा ब्यस्त देखिन्थे। हिटिङ पौडी पोखरीको कम्पाउन्डमा सिसा राख्नका लागि केही कामदार खटिरहेका थिए। कोही रङ हाल्ने, कोही कुर्सी हाल्ने काममा व्यस्त थिए भने ठेकेदार र इन्जिनियरहरु ल.. ल.. छिटो.. छिटो.. भन्नमै व्यस्त थिए। जे होस् साग सकियो।
तर प्रतियोगिता सकिएपछि यतिबेला पौडी पोखरी हेर्ने हो भने त्यहाँ खेलाडी बस्ने कोठामा एउटा कम्बल ओछ्याइएको छ। त्यहि माथि वियर र रक्सीका बोतल छन्। छरपष्ट तासका पत्ताहरु छन्। कुनै च्यातिएका कुनै सग्लै।
त्यो देख्दा थाहा हुन्छ साग खेलकुदपछि यो पौडी पोखरी जाँड खाने र जुवातास खेल्नेको अड्डा बनेको छ। त्यहाँ कसले त्यसरी तास खेल्ने र रक्सी खाने अड्डा बनाएको छ?
पौडी पोखरी प्रतियोगिता नहुने बेलामा पनि राम्ररी रेखदेख गर्नुपर्छ भन्ने उदाहरण भने त्यही हिटिङ पौडी पोखरीसँगै टाँसिएको अर्को लङ कोर्सको पौडी पोखरीलाई हेर्दा नै थाहा हुन्छ।
लङ कोर्सको उक्त पौडी पोखरी यति सफा छ कि लाग्छ त्यहाँ भोलि नै कुनै ठूलो अन्तर्राष्ट्रिय प्रतियोगिता सञ्चालन हुँदैछ। तर त्यो पौडी पोखरीमा त झनै प्रतियोगिता नभएको पनि लामै समय भइसक्यो। सफा र राम्रो पोखरी भएकाले नै सागअघि चिनियाँ राजदूत पौडी पोखरी निरिक्षण गर्न जाँदा समेत त्यसैलाई देखाइएको थियो। राजदूतले त्यहिँको तस्बिर सागको पौडी पोखरी भन्दै सामाजिक सञ्जालमा पोस्ट गरेकी थिइन्।
हिटिङ पौडी पोखरीबाहिरको काम नसकिएकाले अहिले रेखदेख नभएको पौडी संघका अध्यक्ष अशोकरत्न बज्राचार्य बताउँछन्। त्यसका केही समय यता खेलकुदमा देखिएको कोरोना भाइरसको असर त पौडी पोखरी सफा नगर्नुको पनि बाहना बनेको छँदैछ।
भएका भौतिक संरचनाप्रति चासो नदिनु दुःखद हुँदाहुँदै अध्यक्ष ब्रजाचार्य भन्छन्, ‘अहिले कोरोना भाइरसको कारण स्विमिङ गतिविधि ठप्प छ। हिटिङ स्विमिङ पुल अहिले पनि निर्माण भइरहेको छ। तर त्यो चाहिएमा आजको भोलि सञ्चालनमा आउँछ।’
तर निर्माण जिम्मा लिएको किराँतेश्वर कन्स्ट्रक्सन एन्ड ड्रिलिङ कम्पनी प्रालीका प्रबन्ध निर्देशक सनकसिंह राई भने निर्माणको सम्पूर्ण काम सकिइसकेको बताउँछन्। उनले भने, ‘निर्माणको काम सकाएका छौं। तर त्यहाँ बाफलाई कन्ट्रोल गर्ने सामान बेलायतबाट आउँदैछ। दुई चारदिनमा आइपुग्छ। अहिले पनि प्रतियोगिताहरु सञ्चालन हुन्छ। कुनै समस्या छैन। तर यो सामानले चाहिँ महिनौंसम्म पनि पानीलाई तातो बनाइराख्छ।’
के हो हिटिङ पौडी पोखरी?
हिटिङ पौडी पोखरी त्यस्तो प्रविधियुक्त स्विमिङ पुल हो जहाँ जुनसुकै मौसममा पनि प्रतियोगिता आयोजना गर्न र खेल्न सकिन्छ। यो पोखरीभन्दा अघि नेपालमा यस्तो सुविधा सम्पन्न पौडी पोखरी बनेको थिएन।
अत्याधिक प्रविधियुक्त जडित यो पौडी पोखरी विशेषगरी जाडो महिनाको लागि निर्माण गरिएको हो। करिब २० करोडभन्दा बढी लागतमा बनेको यो पोखरीको डीपीआर नेपाल पौडी संघले तयार पारेको हो। संघ र राष्ट्रिय खेलकुद परिषदको सम्झौतामा निर्माण सम्पन्न भएको यो पौडी पोखरी सट कोर्सको हो। जुन २५ बाई २५ मिटरको छ।
पौडीको लङ कोर्स र सट कोर्स गरी दुई वटा फम्र्याटमा प्रतियोगिताहरु आयोजना हुने गरेको छ। १३औं दक्षिण एसियाली खेलकुद प्रतियोगितामा प्रयोग गरिएको सट कोर्सको हिटिङ पौडी पोखरी साग खेलकुदको इतिहासमै पहिलो पटक हो। यसअघि पहिलोदेखि १२औं साग खेलकुद सकिदासम्म सट कोर्समा स्वीमिङ भएको थिएन। अन्तर्राष्ट्रिय मान्यताअनुसार हिटिङ स्विमिङमा पानीको तापक्रम २५ देखि २७ डिग्री हुनु पर्छ। यो भन्दा बढी पनि हुनु हँुदैन कम पनि हुनु हुँदैन।
हिटिङ पौडी पोखरीको पूर्व पश्चिमतर्फ गरी दुई वटा भवन निर्माण भएको छ। पूर्वतर्फको भवन खेलाडी बस्नका लागि बनाइएको हो भने पश्चिमतर्फको भवन प्रशासनिक काम र भीआइपी बस्नको लागि बनाइएको हो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।