मेलम्ची मेलम्ची खानेपानी आयोजनाको अस्थायी बाँधबाट सुरुङमा पानी हालेर परीक्षण गरिएको छ। खानेपानी मन्त्री विना मगरको उपस्थितिमा अस्थायी बाँधबाट एक किलोमिटर सुरुङभित्र पानी हालेर परीक्षण गरिएको हो।
काठमाडौंतर्फ पानी जाने सुरुङ बन्द गरेर आयोजनाको पहिलो अडिटमार्गबाट पानी परीक्षण सम्पन्न गरिएको हो। हेलम्बु गाउँपालिका–१ अम्बाथानमा रहेको मुहान क्षेत्रबाट केही तल रहेको पहिलो अडिटमार्गको सुरुङसम्म पानी हालेर परीक्षण गरिएको मेलम्ची खानेपानी आयोजनाले जनाएको छ।
झण्डै एक किलोमिटर सुरुङभित्र पानी हालेर सफलतापूर्वक परीक्षण गरिएको आयोजनाका कार्यकारी निर्देशक तिरेशप्रसाद खत्रीले जानकारी दिए। खानेपानी आयोजनाको बाँधबाट आयोजनाको पहिलो अडिट मार्ग अम्बाथान सुरुङसम्म परीक्षण गर्दा कतै पनि समस्या नदेखिएको खत्रीले जनाएका छन्।
‘अब क्रमशः अरु अडिट मार्गमा पानी हालेर परीक्षण सकिएपछि मुख्य सुरुङभित्र पानी हालेर परीक्षण गरिनेछ,’ निर्देशक खत्रीले भने।
परीक्षण सफल भएपछि मन्त्री मगरले निर्धारित मितिभन्दा अगाडि नै पानी राजधानीमा लैजानुपर्ने उल्लेख गर्दै काम छिटो गर्न निर्देशन दिइन्।

इटालीयन कम्पनी सीएमसीले आयोजनाको ठेक्का तोडेपछि सरकारले चिनियाँ सिनो हाइड्रोलाई बाँकी कामको जिम्मा दिएको थियो। चिनियाँ कम्पनीलाई दिएको कामको जिम्मामध्ये अहिले ८० प्रतिशत काम सम्पन्न भएको र तोकिएको मितिभन्दा पहिला नै राजधानीमा पानी लैजानका लागि काम भइरहेको निर्देशक खत्रीले जानकारी दिए।
मन्त्री मगरले सरकारले मेलम्ची आयोजनाको पछिल्लो भाखा दसैंका लागि तय गरेको जनाइन्।
ठेकेदार कम्पनी सिनोले गत असोजमा सुरुङको बाँकी काम गर्न ८५ करोड र एक अर्ब दुई करोड रुपैयाँमा हेडवक्र्सको ठेक्का पाएको थियो। सम्झौताको मितिले दुवै काम सक्ने समयावधि १५ महिना भए पनि आयोजनाले समय अगावै पूरा गरे ठेकेदार कम्पनीलाई ठेक्का रकमको १० प्रतिशत रकम बोनस दिने घोषणा गरेको थियो ।

आयोजनाको बाँधस्थलदेखि काठमाडौँको सुन्दरीजलसम्म साढे २६ किलोमिटर सुरुङको काम सम्पन्न भएको र अब चार वटा अडिटमार्गमा गेट र सुरुङभित्र भेन्टीलेसनको काममात्रै बाँकी रहेको मेलम्ची खानेपानी आयोजनाले जानकारी दिएको छ। सुरुङ निर्माणको क्रममा सामग्री लैजान र भित्रको सामान बाहिर ल्याउनका लागि सिन्धुपाल्चोक क्षेत्रमा ३ र काठमाडौको सुन्दरीजल क्षेत्रमा एउटा गरी ४ वटा अडिट मार्ग निर्माण गरिएको थियो। अहिले त्यसलाई बन्द गर्नका लागि गेट निर्माणको काम अहिले भइरहेको आयोजनाका निर्देशक खत्रीले जानकारी दिए।

‘मुहानस्थलमा अहिले कफर ड्याम९अस्थायी० बनाएर पानी सुरुङभित्र हाल्ने योजनामा काम भइरहेको छ,’ निर्देशक खत्रीले भने, ‘बिस्तारै मुहानस्थलमा बाँध बनाएर ड्याम पनि बनाउँछौँ।’
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।