काठमाडौं- प्रहरीले बरामद गरेका लाखौं संख्याका मास्क तत्कालै बिक्री गर्न महान्यायाधिवक्ताको कार्यालयले प्रहरीलाई निर्देशन दिएको छ। महान्यायाधिवक्ताको कार्यालयले प्रहरी महानिरीक्षकको सचिवालयलाई पत्र लेख्दै मास्क बेच्न निर्देशन दिएको हो।
कोरोना भाइरसका कारण मास्कको माग बढेकाले व्यापारीहरुले कालोबजारी गरेर महँगीमा बेच्ने भन्दै मास्क लुकाएका थिए। प्रहरीले काठमाडौं उपत्यकाका विभिन्न स्थानमा छापा हानेर ठूलो मात्रामा मास्क बरामद गरेको थियो।
ती मास्कहरु मुद्दाको किनारा नलागुन्जेल अदालतमा दशी प्रमाणको रुपमा पेश गर्नुपर्ने कानूनी व्यवस्था छ। उक्त व्यवस्थाअनुसार मास्क दशीका लागि राख्दा बजारमा मास्कको अभाव हुने भएको भन्दै फोटा भिडियोसतिहको मास्कको लागत राखेर मास्क बेच्न प्रहरीलाई महान्यायाधिवक्ता कार्यालयले निर्देशन दिएको हो।
प्रहरीले आइतबार कपनबाट १ लाख ६८ हजार मास्कसहित ५ जना र सोमबार ८ लाख ४० हजार मास्क गरी १० लाख ८ हजार थान मास्क बरामद गरेको थियो।
त्यस्तै ७८ हजार थान मास्कसहित ८ जनालाई शनिबार प्रहरीले पक्राउ गरेको थियो।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।