काठमाडौं– सतुंगलबाट प्रहरीले कालोबजारी गर्न राखिएको ६ लाख थान मास्क बरामद गरेको छ। सतुंगलमा रहेको विष्णुदेवी गोदाममा छापा मारेर प्रहरीले ६ लाख थान मेडिकल मास्क बरामद गरेको हो।
उक्त मास्क १ सय २० वटा कार्टुनमा प्याक गरेर लुकाएर राखेको अवस्थामा बरामद गरिएको महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रमुख डिआइजी विश्वराज पोखरेलले जानकारी दिए।
यसैगरी प्रहरीले आइतबार कपनबाट १ लाख ६८ हजार थान मास्क बरामद गरेको थियो। मास्कसहित एउटा गाडीसहित ६ जनालाई पक्राउ गरेको थियो। प्रहरीले शनिबारमात्रै विभिन्न ठाउँमा छापा मारेर ७८ हजार मास्कसहित ८ जनालाई पक्राउ गरेको थियो।
कोरोना भाइरसको महामारीले विश्वव्यापी रुप लिन थालेपछि मास्कको माग बढेपछि व्यापारीहरुले लुकाएर महँगो मूल्यमा मास्क बेच्दै आएका छन्। प्रहरीले कालोबजारी गर्ने विरुद्ध कारबाही प्रक्रिया सुरु गरिसकेको जनाएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।