काठमाडौं–सभामुख अग्निप्रसाद सापकोटा र नेपालका लागि श्रीलंकाली राजदूत हिमाली अरुनातिलकाबीच आइतबार शिष्टाचार भेट भएको छ। सभामुखको कार्यकक्ष सिंहदरबारमा भएको भेट भएको हो।
त्यसअवसरमा सभामुख सापकोटाले दुवै देशबाट भएका उच्चस्तरीय भ्रमणले सम्बन्धलाई थप बलियो बनाएको बताउँदै श्रीलंकामा आगामी अप्रिलमा हुन लागको निर्वाचन सफलताको शुभकामना गरेका थिए।
उनले कोरोना नियन्त्रणका लागि दक्षिण एशियाली क्षेत्रीय सहयोग संगठन (सार्क)ले पुनर्जीवन पाउन लागेको विषय नेपाल, श्रीलंकालगायत सबै सार्क सदस्य राष्ट्रका लागि खुसीको विषय भएको बताए।
दुई देशबीच बहुआयामिक सम्बन्ध रहेको स्मरण गर्दै सभामुख सापकोटाले आगामी दिनमा सम्बन्ध थप विकास र विस्तार हुने विश्वास व्यक्त गरे।
भेटमा राजदूत अरुनातिलकाले श्रीलंकामा बहुसंख्यक जनसंख्या बुद्धधर्मावलम्बी रहेको जानकारी दिँदै बार्षिक ७० हजारबढी श्रीलंकन नागरिकले बुद्ध जन्मस्थल लुम्बिनीको भ्रमण गर्ने गरेको बताए।
श्रीलंका आगामी अप्रिल २५ मा नयाँ निर्वाचनको तयारीमा रहेको बताउँदै उले नयाँ संसद पछि संसदसँग जोडिएका सम्बन्ध बिस्तार हुने बताइन्। श्रीलंका सार्कलाई पुनर्ताजगी गराउन इच्छुक रहेको राजदूत अरुनातिलकाको भनाइ छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।