काठमाडौं–पाकिस्तानले कोरोनाविरुद्ध लड्न दक्षिण एसियाली क्षेत्रीय सहयोग संगठन (सार्क) सचिवालयलाई नै सक्रिय बनाउन प्रस्ताव गरेको छ। कोरोना भाइरस (कोभिड–१९) विरुद्ध लड्न सार्क क्षेत्रका नेताहरुले आइतबार आयोजना गरेको संयुक्त भिडियो कन्फ्रेन्सलाई पाकिस्तानका तर्फबाट सम्बोधन गर्दै त्यहाँका स्वास्थ्य राज्यमन्त्री जफर मिर्जाले यस्तो प्रस्ताव गरेका हुन्।
क्षेत्रीय प्रयासको संयोजन गर्ने उपयुक्त संयन्त्र सार्क सचिवालय हुने उनको भनाइ थियो। उनले भने, ‘यो राष्ट्रिय अनुभव, वित्तीय र अन्य सहयोग बाँड्ने उपयुक्त संयन्त्र हो।’
सार्क क्षेत्रमा ज्यादै दूरावस्थाका लागि पनि तयार रहनुपर्ने भन्दै उनले सार्कअन्तर्गत नै वर्किङ ग्रुप र डेटा एक्स्चेन्ज स्थापना गर्नुपर्ने बताए।
उनले सार्क स्वास्थ्य मन्त्रीस्तरीय सम्मेलन छिट्टै गर्नसमेत प्रस्ताव गरे। त्यस्तै उनले सार्क क्षेत्रमा कोरोनाविद्ध लड्न विश्व स्वास्थ्य संगठनलाई सामेल गराउन पनि प्रस्ताव गरे ।
राज्यमन्त्री जफरले सार्कको पर्यवेक्षकसमेत रहेको चीनले कोरोनाविरुद्धको लडाइमा सफलता पाएको भन्दै यसबारे चीनबाट पनि सिक्नुपर्ने बताए।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।