सुमन घिमिरे/रासस
उर्लाबारी- मोरङको रतुवामाई नगरपालिकाबाट व्यापारिक कामले उर्लाबारी आएका जीवन भण्डारीलाई उर्लाबारी ओर्लनेबित्तिकै पिसाबले च्यायो तर कतै शौचालय नभेटेपछि बल्लतल्ल एउटा घरमा छिरे। 'यति ठूलो नगरमा एउटा पनि व्यवस्थित सार्वजनिक शौचालय नहुनु लाजलाग्दो कुरा हो,' भण्डारीले भने।
२०६८ चैत २८ गते उर्लाबारी खुला दिसामुक्त क्षेत्र घोषणा गरिए पनि हालसम्म नगरमा एउटै व्यवस्थित सार्वजनिक शौचालय छैन। जसका कारण भण्डारीजस्ता धेरैले समस्या खेपिरहेका छन्।
जिल्लामा विराटनगरपछि दोस्रो ठूलो व्यापारिक केन्द्र उर्लाबारीमा एउटै व्यवस्थित सार्वजनिक शौचालय नहुँदा नगरका व्यापारी तथा सर्वसाधारणलाई शौच गर्न समस्या हुने गरेको छ। २०६१ मा उर्लाबारी युवा क्लबको संयोजनमा मुख्य चोकमा एउटा सार्वजनिक शौचालय निर्माण गरिए तापनि हाल जीर्ण छ। सो शौचालयको पुनःनिर्माणमा कसैले ध्यान नदिँदा भित्ता र ढोका भत्किएको छ भने छानामा रहेको टिन पनि चुहिन्छ।
पूर्वी मोरङकै केन्द्र उर्लाबारी नगरपालिकामा एउटा पनि व्यवस्थित सार्वजनिक शौचालय नहुनु दुःखद् भएको स्थानीय व्यापारी बताउँछन्।
तत्कालीन उर्लाबारी गाविस रहेको अवस्थामा खुला दिसामुक्त घोषणा गरिएपछि गाविस र प्लान नेपालको सहयोगमा एउटा घुम्ती शौचालय सञ्चालनमा ल्याइएको थियो। उक्त शौचालय दिनभर सार्वजनिकस्थलमा राखिन्थ्यो तर खुला दिसामुक्त क्षेत्र घोषणा समितिको तीनवर्षीय कार्यकाल सकिएपछि तत्कालीन गाविसलाई घुम्ती शौचालय हस्तान्तरण गरिए पनि गाविसले व्यवस्थित रुपमा सञ्चालन गर्न नसक्दा अहिले बेवारिसे बनेको खुला दिसामुक्त क्षेत्र घोषणा समितिका अध्यक्ष महेन्द्रजङ्ग तामाङ बताउँछन्।


उर्लाबारीमा दैनिक धेरै सवारी साधन ओहोरदोहोर गर्छन्। उत्तरी र दक्षिणी मोरङमा यहाँबाटै दैनिक उपभोग्य सामान जाने हुँदा किनमेल गर्न आउनेको यहाँ भिड लाग्छ। पछिल्लो समय तीव्र शहरीकरण भएको उर्लाबारी नगरपालिकामा एउटा पनि व्यवस्थित सार्वजनिक शौचालय नहुँदा किनमेल गर्न आउने र यात्रा गर्नेले सास्ती भोगिरहेका छन्। नगरपालिकाले आवश्यक स्थानमा व्यवस्थित सार्वजनिक शौचालय नबनाउँदा बटुवा र लामो तथा छोटो दूरीका सवारी यात्रु पीडित भएका छन्। नगरको मुख्य चोक, मंगलबारे, आइतबारे, बरगाछी लगायत स्थानमा सार्वजनिक शौचालयको व्यवस्था नहुँदा समस्या हुने गरेको छ। यो समस्या महिलालाई बढी छ।
स्थानीय व्यापारी मुना ढकाल भन्छिन्, 'पुरुषलाई बरु सजिलो छ, हामी महिलालाई सार्वजनिक शौचालयसमेत नहुँदा दिसापिसाबका लागि ठूलो समस्या हुने गरेको छ।'
उर्लाबारी उद्योग वाणिज्य संघका अध्यक्ष चन्द्रबहादुर भट्टराई (भरत) नगरमा व्यवस्थित सार्वजनिक शौचालय निर्माणका लागि नगरपालिका कार्यालयसँग पहल गरिरहेको बताउँछन्। सार्वजनिक शौचालय निर्माणका लागि नगरपालिका कार्यालयसँग विभिन्न चरणमा छलफल गरिए पनि उपयुक्त जग्गाको अभावमा निर्माण गर्न नसकिएको उनले बताए।
उर्लाबारी नगरपालिकाका प्रमुख खड्गबहादुर फागोले भने नगरपालिका कार्यालय एउटा व्यवस्थित सार्वजनिक शौचालय निर्माण गर्ने तयारीमा रहे पनि सार्वजनिक जग्गा नहुँदा समस्या भएको बताए। 'मुख्य चोकमा रहेको सार्वजनिक शौचालय पनि नेपाल बैंक लिमिटेडको जग्गामा रहेकाले व्यवस्थित बनाउन नसकिएको हो,' नगर प्रमुख फागोले भने, 'जग्गा प्राप्त हुनेबित्तिकै शौचालय निर्माण सुरु हुनेछ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।