काठमाडाैं- कोरोना भाइरस (कोभिड– १९) रोग रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठक आइतबार दिउँसो बस्ने भएको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबार काठमाडौंमा दिउँसो १ बजे बस्ने समितिका अध्यक्ष उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलका प्रेस संयोजक लोकेन्द्र केसीले जानकारी दिए।
उनका अनुसार बैठकमा प्रदेशका मुख्यमन्त्री र सामाजिक विकास मन्त्रीको सहभागिता रहने छ। सरकारले कोरोना संक्रमण हुन नदिन जोखिम व्यवस्थापनको तयारी तीव्र रूपमा अघि बढाएको छ। विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)ले कोरोनालाई विश्वव्यापी महामारी घोषणा गरेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले व्यवस्थापकीय तयारी अघि बढाएको हो।
चीन र भारतसँग सिमाना जोडिएका प्रवेश नाकामा ४३ वटा हेल्थ डेस्कबाट नेपाल प्रवेश गर्ने व्यक्तिको स्वास्थ्य परीक्षण सुरु गरिएको छ। नेपाल–भारत सीमामा सचेतना तथा सतर्कता अपनाउन एवं अन्य आवश्यक समन्वय गर्न क्रस बोर्डर मिटिङ गर्न सुरु गरिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा पठाउनु होला।