काठमाडौं– टीकापुर घटना राजबन्दी पीडित परिवार संघले राजनीतिक घटनामा संलग्न भएको आरोपमा थुनिएका दुई नाबालकसहित २६ जनालाई तत्काल रिहाइ गर्न माग गरेको छ।
यहाँ शुक्रबार आयोजित पत्रकार सम्मेलनमा संघका संयोजक धनकुमार चौधरीले घटनाबारे तयार पारिएको अध्ययन प्रतिवेदन तत्काल सार्वजनिक गर्न सरकारसँग आग्रह गरे। उनले भने,‘२०७२ भदौ ७ गतेको घटनाका बारेमा सबैले आवाज उठाउँछन् तर भदौ ८ गतेको बारेमा कोही बोल्दैनन्। ८ गते कफ्र्यु लागेको थियो। प्रहरीकै आडमा छानीछानी थारुका घरमा आगो लगाइयो। लुटपाट गरियो, सम्पत्ति जफत गरियो, थारु चेलीबेटी र श्रीमतीमाथि बदनियतपूर्ण व्यवहार गरियो। यस्तो स्थितिमा पनि मानवअधिकारवादी बोलेनन्। आजको दिनसम्म पनि बोलेका छैनन्।’
नेपाल आदिवासी जनजाति महासंघ कञ्चनपुरका अध्यक्ष प्रेमवती रानाले टीकापुर घटनाका बारेमा सरकारबाट आधिकारिक धारणा सार्वजनिक नगरिनु दुःखद भएको बताए। संघले कैलाली क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्य रेशमलाल चौधरीलाई विजयी प्रमाणपत्र प्रदान गर्नुपर्ने, घटनाका आरोपितमाथिको मुद्दा फिर्ता गरी क्षतिपूर्ति प्रदान गर्नुपर्ने, भदौ ८ को दिन तोडफोड र जलाइएका सम्पत्तिको क्षतिपूर्ति प्रदान गर्नुपर्नेलगायत माग गरेको छ। रासस
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।