तस्वीर : निमेष जंग राई
काठमाडौं- मिर्गौला प्रत्यारोपणका लागि त्रिवि शिक्षण अस्पतालमा भर्ना भएका प्रधानमन्त्री केपी शर्मा ओली अस्पतालबाट डिस्चार्ज भएका छन्।
अस्पतालमा रहँदा प्रधानमन्त्री ओलीको तस्बिर समेत सार्वजनिक भएको थिएन। तर, आज डिस्चार्ज हुने समयमा भने प्रधानमन्त्रीको तस्बिर सञ्चारकर्मीले खिचेका छन्।
अस्पतालबाट डिस्चार्ज हुँदा प्रधानमन्त्री मन्द मुस्कानसहित हात हल्लाउँदै बाहिर निस्किएका छन्। तर, उनलाई चिकित्सक र उनका सहयोगीले पछाडीबाट समातेर सहारा दिइरहेका थिए।
प्रधानमन्त्री ओली कालो टोपी, हरियो ज्याकेट, खैरो पाइन्ट र कालो जुत्तामा हात हल्लाउँदै मुस्कान सहित गाडीमा चढेका थिए। प्रधानमन्त्री ओली बालुवाटारस्थित प्रधानमन्त्री निवासमा गएका छन्।
फागुन १९ गते मिर्गौला प्रत्यारोपणका लागि उनी अस्पताल भर्ना भएका थिए। उनको फागुन २१ गते दोस्रो पटक मिर्गौला प्रत्यारोपण गरिएको हो।
उनलाई भान्जी समिक्षा संग्रौलाले मिर्गौला दान गरेकी थिइन। समीक्षा बुधबार डिस्चार्ज भइसकेकी छन्।
प्रधानमन्त्री ओलीको दोस्रो पटक मिर्गौला प्रत्यारोपण भएको हो। यसअघि उनको १२ वर्ष पहिले भारतमा मिर्गौला प्रत्यारोपण गरिएको थियो।

नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।