काठमाडौं– कोरोना भाइरस (कोभिड–१९) को संक्रमणले विश्वव्यापी संकटको रुप लिइरहेका बेला भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दक्षिण एसियाली सहयोग संगठन (सार्क) सम्झिएका छन्।
मोदीले शुक्रबार ट्वीट गर्दै कोरोना भाइरसविरुद्ध लड्न सार्क देशका नेताहरुले एक बलियो रणनीति बनाउनु पर्ने प्रस्ताव गरेका छन्। उनले यसबारे भिडियो कन्फ्रेन्समार्फत् कुरा गर्न सकिने बताएका छन्।
‘सार्क देशका नेतृत्वले कोरोना भाइरसविरुद्ध एक बलियो रणनीति बनाउने प्रस्ताव म गर्न चाहन्छु,’ मोदीले भनेका छन्, ‘हामी हाम्रा नागरिक स्वस्थ राख्न भिडियो कन्फ्रेन्समार्फत् छलफल गर्न सक्छौं। हामी एकसाथ दुनियाँका लागि एक उदारण बन्न सक्छौं र स्वस्थ ग्रह निर्माणमा योगदान गर्न सक्छौं।’
नेपालका प्रधानमन्त्री केपी शर्मा ओलीले यसको स्वागत गरेका छन्। ट्वीटमार्फत् मोदीलाई जवाफ फर्काउँदै ओलीले कोरोना भाइरसविरुद्ध लड्न सार्क सदस्य राष्ट्रहरुसँग मिलेर काम गर्न तयार रहेको बताएका छन्। नेपाल सार्कको अध्यक्षसमेत हो।
‘कोरोना भाइरसविरुद्ध लड्न सार्क देशका नेतृत्वले एउटा बलियो रणनीति बनाउनुपर्छ भन्ने प्रधानमन्त्री मोदीजीको उन्नत विचारको म स्वागत गर्छु,’ ओलीले भनेका छन्, ‘मेरो सरकार हाम्रा नागरिकलाई यो घातक रोगबाट बचाउनका लागि सार्क सदस्य देशहरुसँग मिलेर काम गर्न तयार छ। ’
मोदीको प्रस्तावलाई सार्क क्षेत्रका अन्य देशका राष्ट्र तथा सरकार प्रमुखले पनि स्वागत गरेका छन् ।
मोदीको प्रस्तावलाई सबैभन्दा पहिले भुटानी प्रधानमन्त्री डा.लोटे छिरिङले स्वागत गरेका थिए । उनले मोदीकै नेतृत्वमा कोरोनाविरुद्ध लड्न सकिने उल्लेख गरेका छन् । ‘यसलाई हामी खास नेतृत्व भन्छौं,’ भुटानी प्रधानमन्त्रीले भनेका छन्, ‘यो क्षेत्रको सदस्यको रुपमा हामी यो समयमा एक साथ आउनुपर्छ । यसले साना अर्थ व्यवस्थामा असर पुर्याउन नदिन हामीले समन्वय गर्न आवश्यक छ। तपाईंको नेतृत्वमा हामी तत्काल र प्रभावकारी परिणाम देख्न सक्छौं । भिडियो कन्फ्रेन्सको प्रतिक्षामा छु। ’
त्यस्तै श्रीलंकाका राष्ट्रपति गोतावेय राजापाक्षेले पनि मोदीको प्रस्तावमा सर्मथन जनाएका छन् । ‘यो महान पहलका लागि नरेन्द्र मोदीलाई धन्यवाद,’ ट्वीटरमा उनले लेखेका छन्, ‘लंका यस छलफलमा सहभागी हुन तयार छ। हामी उत्तम सिकाइ र अभ्यास अरुलाई बाँड्न र सार्क सदस्यहरुबाट सिक्न तयार छ। आउनुहोस् यसमा ऐक्यबद्धता जनाऔं र आफ्ना नागरिक सुरक्षित राख्न एकताबद्ध बनौं ।’
माल्दिभ्सका राष्ट्रपति इब्राहिम मोहमद सोलीहले पनि मोदीको प्रस्तावमा सर्मथन जनाउँदै आफूले क्षेत्रीय पहलको स्वागत गर्ने बताएका छन् । ट्वीटरमा उनले लेखेका छन्, ‘यस महत्वपूर्ण पहलका लागि प्रधानमन्त्री नरेन्द्र मोदीलाई धन्यवाद। कोभिड–१९ लाई पराजित गर्न सामूहिक प्रयास आवश्यक छ। माल्दिभ्स यस प्रस्तावको स्वागत गर्छ र यसअन्तर्गत गरिने क्षेत्रीय प्रयासलाई पूर्ण रुपमा समर्थन गर्छ। ’
यस्तै, बंगलादेशले पनि मोदीको पहलको स्वागत गरेको छ।
सार्कका अन्य सदस्य राष्ट्रहरु पाकिस्तान र अफगानिस्तानको भने अहिलेसम्म यसबारे कुनै प्रतिक्रिया आएको छैन।
सन् १९८५ डिसेम्बर ८ मा स्थापना भएको सार्कमा नेपाल, पाकिस्तान, बङ्गलादेश, भारत, भुटान, माल्दिभ्स, श्रीलंका र अफगानिस्तान छन्।
सार्क स्थापनामा बंगलादेशका तत्कालीन राष्ट्रपति जियाउर रहमानको योगदान महत्वपूर्ण छ। रहमानले सन् १९७०को दशकमा दक्षिण एसियाली राष्ट्रहरूको एउटा व्यापारिक समूह गठनको प्रस्ताव राखेका थिए।
सार्कको अठारौं सम्मेलन सन् २०१४ मा काठमाडौंमा भएको थियो। भारत र पाकिस्तानबीचको आपसी द्वन्द्वका कारण त्यसयता कुनै पनि सम्मेलन हुन सकेका छैनन्।
पछिल्लो समय सार्कभन्दा बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिम्स्टेक) लाई बढ्ता प्राथमिकता दिएको भारतको यो प्रस्तावलाई अर्थपूर्ण ठानिएको छ।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।