काठमाडौं- विश्वव्यापी महामारीको रुप लिइरहेको कोरोना भाइरस (कोभिड-१९) रोकथामका लागि लिइएका निर्णयले नेपाल-भारत सीमामा पार्ने अप्ठ्याराबारेमा वार्ता हुने भएको छ।
परराष्ट्र सचिव शंकरदास बैरागीले भारतीय राजदूत विनय मोहन क्वात्रालाई मन्त्रालयमा बोलाएर यसबारे छलफल गर्न लागेका हुन्। मन्त्रालय स्रोतका अनुसार केहीबेरपछि यस विषयमा कुराकानी हुन लागेको हो।
भारतले बुधबार अत्यावश्यक बाहेकका सबै भिसा रद्द गर्ने निर्णय गरेको थियो। त्यस्तै सीमा नाकाहरुमा पर्याप्त चेकजाँचको व्यवस्था भएका चेक प्वाइन्टबाहेकका अन्य स्थल नाकाबाट समेत भारत प्रवेशमा कडाइ गर्ने निर्णय भारतले गरेको थियो।
भारतको यस्तो निर्णयले नेपाल र भारतको सीमामा असर पर्ने र यसले भारतबाट नेपालतिर खाद्यन्नलगायतमा असर पार्ने भन्दै चिन्ताहरु व्यक्त भइरहेका छन्।
त्यसलाई आश्वस्त पार्नेगरी बिहीबार काठमाडौंस्थित भारतीय दूतावासले भारतले लगाएको यात्रा प्रतिबन्धको असर नेपालीलाई नपर्ने स्पष्ट पारेको छ।
‘क्वारेन्टाइनमा बस्नुपर्ने हुन सक्छ,’ दूतावासले जारी गरेको सूचनामा उल्लेख छ, ‘सामान्य अवस्थामा नेपालीहरुका लागि स्थल र हवाइमार्गबाट भारतको यात्रामा कुनै असर पर्ने छैन।’
कोरोना भाइरस नियन्त्रणसम्बन्धी उच्चस्तरीय समितिको बिहिबारै बसेको बैठकले नेपाल भारतबीचको यात्रु आवागमनलाई व्यवस्थित गर्न उद्योग, वाणिज्य तथा गृह मन्त्रालयसँगको सहकार्यमा भारतीय पक्षसँग समन्वय गरी निश्चित बिन्दुहरूबाट मात्र यात्रु आवागमन गर्ने व्यवस्था मिलाउन परराष्ट्र मन्त्रालयलाई निर्देशन दिएको थियो।
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।