काठमाडौं- भारतले लगाएको यात्रा प्रतिबन्धबाट नेपालीलाई कुनै असर नपर्ने काठमाडौंस्थित भारतीय राजदूतावासले स्पष्ट पारेको छ।
बिहीबार प्रेस विज्ञप्ति जारी गरी भारतीय राजदूतावासले स्वास्थ्य र सुरक्षाका संवेदनशीलता मध्यनजर गर्दै लगाइएको प्रतिबन्धबाट नेपालीहरूलाई कुनै असर नपर्ने स्पष्ट पारेको हो।
‘यदि कुनै नेपाली कोरोना संक्रमित देशमा गएर भारतको यात्रा गर्न चाहेको खण्डमा भने क्वारेन्टाइनमा बस्नुपर्ने हुन सक्छ,' दूतावासले जारी गरेको सूचनामा उल्लेख छ, 'सामान्य अवस्थामा नेपालीहरुका लागि स्थल र हवाइमार्गबाट भारतको यात्रामा कुनै असर पर्नेछैन।'
यसअघि भारतले १३ मार्चबाट लागू हुने गरी अत्यावश्यक बाहेकका सबै भिसा अप्रिल १५ सम्मका लागि रद्द गरिएको जानकारी दिएको थियो।

भारतमा हालसम्म ६० भन्दा बढी मानिसमा कोरोना भाइरसको संक्रमण देखिइसकेको छ भने कर्नाटक र दिल्ली राज्यले यसलाई महामारी घोषणा गरिसकेका छन्। नेपालमा भने हालसम्म एक जनामा मात्र यो भाइरसको संक्रमण देखिएको भए पनि ती व्यक्ति उपचारपछि घर फर्किसकेका छन्।
(नोट : यसअघि प्रकाशित समाचारमा फरक तस्बिर पर्न गएकाले पाठकवर्गमा पर्न गएको असुविधाप्रति क्षमायाचनासहित सच्याइएको छ।-सम्पादक)
नेपाललाइभमा प्रकाशित सामग्रीबारे कुनै गुनासो,
सूचना तथा सुझाव भए हामीलाई nepallivenews@gmail.com मा
पठाउनु होला।